१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

डब्लुएचओको अनुसन्धान टोली कोभिड–१९ फैलिएको उहान बजारमा

१८ माघ, एजेन्सी  ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहान बजार भ्रमण गरेको छ।

समूहका सदस्यहरूले वुहानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए। यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका पत्रकारहरूका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए।

चीनले गरेको ढिलाइ एवं राजनीतिक आरोहअवरोहबीच डब्लुएचओ टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ।

तर, भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्ल्युएचओले अड्कल गरेको छ। वुहानबाटै फैलिएको आशंका गरिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर २२ लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटमा उभिएको छ।

आइतबार डब्लुएचओको अनुसन्धान टोली हुआनानको बजार अनुगमन गर्न आइपुगेको थियो। डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरूले निकै गम्भीरतापूर्वक नियालीरहेका छन्।

चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत वुहानको बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ। चिनियाँ अधिकारीहरूले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन्।

चीनमा कोभिड–१९ को संक्रमणबाट चार हजार ६३६ जनाको मृत्यु भएको आधिकारिक विवरणमा उल्लेख छ। यसअघि पनि डब्ल्युएचओको टोलीले चीनको भ्रमण गरेको थियो।

सात महिनाअघि गएको टोलीमा डब्लूएचओका दुई सदस्य थिए। जो पशु विज्ञान र महामारी विज्ञानका ज्ञाता हुन्। उनीहरूले चीनका वैज्ञानिकसँग मिलेर कोरोना उत्पत्तिबारे अनुसन्धान गरेका थिए। उक्त टोलीलाई कोरोनाबारे अनुसन्धान गर्न गएको पहिलो टोली मानिएको थियो।

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार १५:४१