साकार बन्दैछ विकासको रोलमोडल रूपन्देहीको संकल्प
-अमृत गिरी
१५ माघ, वुटवल । केही वर्ष अघि बुटवलमा आयोजित एक साक्षत्कार कार्यक्रममा अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीलाई विकासको रोलमोडल बनाउने घोषणा गरेका थिए । त्यसयता नेता पौडेल पार्टी र सरकारका विभिन्न जिम्मेवारीमा रहँदा होस् वा जिम्मेवारीमै नरहँदा होस् रुपन्देहीलाई साँच्चिकै विकासको रोलमोडल बनाउने कामलाई व्यवहारमै उतार्ने काम भएको छ । रुपन्देहीलाई केन्द्रमा राख्दै समग्र लुम्बिनी प्रदेशको विकास गर्ने घोषणा अहिले क्रमशः कार्यान्वयनको चरणमा छ । पौडेलले शिलान्यास गरेका कतिपय संरचना अहिले पौडेल आफैले शुभारम्भ गरेका छन् ।

त्यसक्रममा अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने प्रतिबद्धता दोहोराए । उनले विकास निमार्णलाई एक साथ अघि बढाउने बताए । उनले भने,‘विकासका हिसाबले यो ठाउँलाई पछि पर्न दिदैनौं ।’ अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका काम सँगै विकास निमार्णलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउदै यसमा साथ दिन सबैलाई आग्रह गरे । यस क्षेत्रका विकासका मुद्दालाई ओझेलमा पर्न नदिन स्थानीयवासीको पनि उत्तिकै भूमिका हुने छ भन्दै अर्थमन्त्री पौडेलले समय समयमा खबरदारी गर्न आवश्यक रहेको बताए ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा उत्रिने जोकोही पनि त्यहाँबाट चाहे लुम्बिनी जाओस् वा बेलहिया, चाहे बुटवल जाओस् वा हुलाकी मार्ग हुँदै नवलपरासी नै जाओस् फराकिला र चिटिक्का सडक देखेरै दंग पर्छ । यी सडकलाई जोड्नेगरि उत्तर दक्षिणका अरु कैयन फराकिला सडक जस्तै बुद्ध परिपथ, बुटवल, सैनामैना चक्रपथ, बेलबास–बेथरीलगायतका कैयन सडक बनिरहेका छन् ।
ती सडकमा पर्ने नदीहरुमा ठाउँ ठाउँमा पुल बनिरहेका छन् । तिनाउ–दानव नदीमा मात्रै त्यसयता करिब १८ वटा पुलको निर्माण भइसकेको छ । जहाँ वारीपारीका बस्ती पुलको अभावमा रुल्लटुल्ल जस्तै थिए । यसका साथै बुटवलमा बनिरहेका अन्तर्राष्ट्रिय सभाहल, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, बुटवल–नारायणघाट एक्सप्रेस–वे,तिनाउ–दानव करिडोरजस्ता महत्वपूर्ण आयोजनाले बुटवललाई मात्रै होइन समग्र रुपन्देहीलाई विकासको साँच्चिकै रोलमोडल बनाएका छन् । त्यसैले यहाँ आउने जोकोहीले पनि विकासको ताजा दृष्टान्त हेर्न रुपन्देही नै आउने पर्ने रहेछ भनेर टिप्पणी गर्ने गर्छन् ।

हालै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल भैरहवा हुँदै बुटवल र बुटवल–सैनामैना हुँदै लुम्बिनी र लुम्बिनीबाट–तौलिहवा पुगेर लुम्बिनीमा फर्किएका थिए । लुम्बिनी पुगेर औपचारिक कार्यक्रममै विकासको रोलमोडल हेर्न रुपन्देही नै आउनुपर्ने रहेछ भनेर मन्त्री ढकालले प्रसंशा गरे । मन्त्री ढकालले पार्टी भित्रका केही टिकाटिप्पणीको समेत चर्चा गर्दै भनेका थिए–‘उबेला धेरै बजेट विष्णु पौडेलले लगे भन्दै आलोचना गरियो तर, अहिले यहाँ आएर हेर्दा विकासप्रेमी नेताले राम्रै गरेका रहेछन् ।’
मन्त्री ढकालमात्रै होइन यहाँको विकास निर्माण देखेर धेरैले प्रशंसा गर्ने गरेका छन् । रसुवाबाट लुम्बिनीसम्मको भ्रमणमा आएका पत्रकार महासंघका नेता हेमनाथ खतिवडाले रुपन्देहीको पूर्वाधार विकासको अवस्था देखेर दंग परेको प्रतिक्रिया दिए । सहकारीको टोली लिएर खतिवडासहितका १० जना नागरिक अगुवा यहाँ आएका थिए । उनीहरुको एउटै प्रतिक्रिया थियो–‘पूर्वाधार विकास पछिको अर्को चरण सुरु भए यो मुलुककै नमुना बन्ने निश्चित छ ।’

अर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरुसंगै संरचना उद्घाटनमा सरिक बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताका रुपमा विकास गर्न अर्थमन्त्री तथा नेकपा महासचिव पौडेलकै नेतृत्वमा आफुहरु अगाडि बढेको बताए ।
बुटवलले तयार पारेको सहरी विकास योजना, आवधिक तथा दीर्घकालीन महत्वका योजनालाई साकार पार्ने काममा पनि अर्थमन्त्री पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरुदेखि तीनै तहका जनप्रतिनिधिहरुका बीचमा सहकार्य भइरेहेको प्रमुख सुवेदीको भनाइ छ ।
महानगरीय अवधारणाका साथ बृहत्त बुटवलको परिकल्पना गर्दै योजना तय गरिएको बताउँदै प्रमुख सुवेदीले बृद्धावलीको, जीतगढी सम्पदाको, रामापिथेकशको ऐतिहासिक बुटवलको सीमाना दाउन्नेदेखि धानखोला, पाल्पादेखि बेलहियासम्मै रहेको बताए ।
एकै दिन तीन ठूला पुल उद्घाटन, चौराह–गोलपार्क सडक विस्तार शुभारम्भ
मुलुकको प्रमुख आर्थिक केन्द्र बुटवल उपमहानगरपालिकासंग छिमेक कैयन बस्तीहरु जोडिनेगरि निर्माण भएका तीन ठूला पुलको नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार एकैदिन उद्घाटन गरेका छन् । यहाँस्थित तिनाउ र दानव नदीमा निर्माणसम्पन्न भएका तीन ठूला पुल अर्थमन्त्री पौडेलले उद्घाटन गर्दै सडक र पुललाई जनजीविकाको सहजताको आधारका रुपमा विकास गरिने बताए ।
बुधबार बिहान तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, नयाँगाउँस्थित दानव नदीमा रहेको पुल र देवीनगरस्थित तिनाउ पुल उद्घाटन भएको हो । त्यसपछि केही कार्यक्रममा सरिक भएका अर्थमन्त्री पौडेलले बुटवलको चौरहा–गोलपार्कको विस्तारिक सडकको पनि बुधबारै शुभारम्भ गरेका छन् । अनेकौं अवरोध र अदालती प्रक्रियाका कारणले रोकिएको सडक विस्तारको काम पौडेलकै पहलमा शुभारम्भ भएको थियो ।
बुटवल–बेलहियाको यो हालको सडकको परिकल्पना नेता पौडेलले नै गरेका थिए । परिकल्पना गरेको सडकको निर्माणकार्यमा भएको ढिलाईबाट भने उनी दुखी छन् । जनस्तरबाट विकास निर्माणका काममा निगरानी गर्नुपर्ने, निर्माणकार्यको निरन्तर रेखदेख गर्नुपर्ने र नागरिक खबरदारी हुनुपर्ने उनको जोड छ ।
डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई.कृष्ण कुँवरका अनुसार तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७३ असार २९ गते निर्माण शुरु भएको सो पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो । कंक्रिट प्रि स्टेट प्रविधिमा बनाइएको सो पुल लुम्बिनी बिल्डर्सले निर्माण सम्पन्न गरेको हो । १८० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको यसको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।
त्यसैगरी देवीनगरस्थित हात्तिसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो । ११० मिटर लम्बाई ११ मिटर चौडाई रहेको यो पुल लुम्बिनी अरनिकोले जिम्मा पाएको थियो । २०७२ असार ३० मा निर्माण शुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो । यसको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।
त्यसैगरी नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो । २०६९ असार २४ गते निर्माण शुरु भएको यो पुल २०७६ भदौ ३० गतेमात्र सम्पन्न भएको हो । स्थानीयको विवादका कारण लामो समय अलपत्र परेको थियो । ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाई रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको पनि जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो । यो क्षेत्रका जनप्रतिनिधिसमेत रहेका अर्थमन्त्री पौडेलकै पहलमा संघीय सरकारबाट बजेट विनियोजन गरी यी पुल निर्माण गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

बुटवल–पोखरा, बुटवल–कोहलपुर सडक विस्तार छिटै
मुलुक विकासको गतिमा अगाडि बढि सकेको दाबी गर्दै अर्थमन्त्री पौडेलले अबका केहि वर्षमा बुटवल–पोखरा र बुटवल–कोहलपुर सडक विस्तार हुने बताए । बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोला सम्मको साढे तीन किलोमिटर सडक निर्माणकार्यको बुधबारै शुभारम्भ गर्दै उनले विकासका कममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
अबको ४÷५ हप्ता भित्रै सिद्धबाबा सुरुङ मार्गको टेण्डर खुल्ने उल्लेख गर्दै उनले बुटवल–नारायणगढ, बुटवल–धानखोला र बुटवल–पोखरा जोड्ने आधुनिक सडक सञ्जालको निर्माण कार्य छिट्टै सुरु गरिने जानकारी दिए । सडक विस्तारका क्रममा बुटवलमा घर भत्काउन बाध्य घरधनीहरुलाई धन्यबाद व्यक्त गर्दै पौडेलले विकासमा घरधनीहरुको योगदानको स्मरण गरिने बताए ।
बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोला सम्मको साढे तीन किलोमिटर सडक निर्माणका लागि २०७३ सालमा ४७ करोड २७ लाखमा ठेक्का सम्झौता भएपनि कतिपय घरधनीहरुले सडक खाली नगरेर अदालतमा मुद्धा प्रक्रियामा गएपछि ठेकेदार कम्पनीले म्याद थप गर्दै बस्दै आएको थियो । अदालती मुद्दाका कारण सडक विस्तारको काम रोकिएको थियो । ४ लेन सडक अन्तर्गत सडकको दुबैतर्फ ५÷५ मिटरको सर्विस लेन सहितको सडक २०७९ साल बैशाख मसान्त सम्म काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई म्याद दिईएको छ ।

पुल बनेपछि स्थानीय हर्षित
बुटवलको धेरै जनसंख्या रहेको वडा नंं ११ का कैयन बस्ती जोड््ने एउटा झोलुङ्गे पुल थियो । देविनगर–बुद्धनगर जोड्ने उक्त झोलुङ्ुगे पुल २०७३ साउनमा आएको बाढीले बगाएपछि भने तिनाउपारीको बुद्धनगर, नहरपुर, मोतीपुरलगायतका बस्ती रुल्लटुल्ल जस्तै थिए । स्थानीयलाई पैदलयात्रा पनि असहज बनेको थियो । अहिले पक्कीपुलको निर्माण सम्पन्न भएपछि भने स्थानीयलाई ओहोरदोहोर गर्न निकै सहज भएको छ भने बुटवल आउन ठाउँठाउँमा पनि व्यवस्थित पुल र सडक निर्माण भइरहेका छन् ।
पुल बनेपछि अहिले साबिकको मोतिपुर सेमलारलगायतको क्षेत्रमा चहलपहल बढेर बुटवलकै एउटा बजारको रुपमा विकसित हुँदै गएको बुटवल १७ का वडाध्यक्ष सन्तबहादुर रानाले बताएका छन् । पुल नहुँदासम्म केही फाट्टफु्ट्ट किराना पसलहरु मात्र थिए । अहिले सुनचाँदी पसलदेखि हार्डवेयर पसलसम्म खुलेका छन्,उनले भने– ‘पाँचपाँच तले अग्ला घरहरु बनिरहेका छन् अन्य विकास पनि बिस्तार भएको छ ।’
तिनाउ र दानवका यी तीन वटा पुलले मोतिपुरबासीलाई मात्र होइन शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिकासम्मलाई बुटवलसँग दुरी घटाएको छ । लामो समयसम्म देवीनगरको तिनाउमाथि झोलुंगे पुल थियो । झोलुंगे पुलबाट पैदलयात्रीलाई सहज भएपनि सवारीबाट ओहोर दोहोर गर्न भने मोतिपुरबासीलाई बेलबास, जीतगढीको साँघुरो अस्थायी भएर घुमेर बुटवल आउनुपर्दथ्यो । अहिले जितगढीमै पनि अर्थमन्त्री पौडेलल नै शिलान्यास गरेको नयाँ पुल बनिरहेको, सडक फरालिा बनिरहेको र सहरसंगै जोडिएका कैयन बस्तीको अवस्था फेरिएको बुटवल उपमहानगरका प्रवक्ता तथा वडा नं. १६ का अध्यक्ष रामप्रसाद रेग्मीको भनाइ छ ।
प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १३:१८












