१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

जंगली महत्वकांक्षा बोकेर पार्टी कार्यकर्ता रूवाउनेहरूले क्षमा माग्नुपर्छ

-ईश्वर पोखरेल

माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखापरेको चरम अराजक, चरम गुटवन्दी र हावी हुनपुगेको फूटवादी गतिविधिका कारण सिर्जना हुनपुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएकोछ-

(१) तत्कालीन नेकपा (एमाले) र माओवादी विच एकता गर्दाका समयमा गरिएको निर्णयका आधारमा मात्र अघि बढ्न सकिन्छ र त्यस विपरित गरिएका वा गरिने कुनै पनि निर्णय वा कामलाई चिनिदैन भन्ने निष्कर्श दिएको छ निर्वाचन आयोगले । त्यो सहमती भनेको , त्यसवेला व्यवस्था गरिएको दुई अध्यक्षका विचको सहमति र त्यही सहमतीका आधारमा कार्यसूचीहरूको निर्धारण र त्यसै आधारमा तयार गरिने प्रस्ताव तथा त्यसमाथि कमिटीमा गरिने छलफल तथा गरिने निर्णय र निकालिने निष्कर्श हो । र, त्यसैका आधारमा मात्र अघि बढ्नुपर्ने सहमती हो । अर्थात्, सहमतिको प्रस्थान विन्दू-दुई अध्यक्षका विचको सहमती हो ।

त्यही जग र त्यहींबाट अघि बढ्ने प्रकृयाबाट एकता महाधिवेशनसम्म पुग्ने संकल्प पनि हो । तर आफू अनुकूल वातावरण बनाउने वा वातावरण अनुकूल बनेको ठानेर पूर्व समूहहरूमा लामै समयदेखि रहँदैआएको गुटवन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ ‘समिकरण’ बनाउने-सन्दर्भ समूह बनाउने-र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ ले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमती अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन ।

त्यसका कारणले सिर्जना हुनपुगेको राजनीतिक अस्थीरताको झण्झावात , अराजकता र उद्दण्डताको सिलसिलाको शंखघोष हुनथाल्यो जुन मुलुकका लागि अत्यन्त अपशकुन वा दुर्भाग्यको गंभीर संकेत बन्न पुग्यो । प्रवल वन्दै गएको यही अपशकुनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले त्यही ‘ऐतिहासिक प्रारम्भिक ‘ विन्दूमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई औंल्याएकोछ । धन्यवाद छ , निर्वाचन आयोगलाई !!

(२) नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई स्वीकार गरेन निर्वाचन आयोगले । पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई अस्वीकार गर्न चाहेन र गर्न मिल्दैन भन्यो निर्वाचन आयोगले । यही पृष्ठभूमिको आधिकारिकता समेतलाई स्वीकार गर्यो निर्वाचन आयोगले ।

पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको बैधानिक र औपचारिक मन्च बाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दै – मिल्दैन भन्यो निर्वाचन आयोगले। फूटको वकालत गर्नेहरू, यसैमा रमाउनेहरू, यसो गर्दा आफ्नो पदीय आकाँक्षा पुरा हुने दुस्वप्न देख्नेहरूलाई समेत राम्रो सवक मिलेको हुनुपर्छ निर्वाचन आयोगको यो निर्णयबाट ।

(३) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब के हुन्छ ? जोडिन्छ कि तोडिन्छ ? जंगली महत्वाकांक्षा बोकेर यसविचमा आम जनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर जे जस्ता ( कूँ) कर्महरू गरिए – जे जस्ता आत्मघाती कामहरू गरिए – तिनलाई लिएर पश्चाताप गर्ने र क्षमा माग्ने काम गरिनुपर्छ सम्वन्धितहरूबाट । त्यस्ता काम गर्नेहरूले जुन उचाइबाट यो काम गर्नेछन्- त्यही उचाइबाट पार्टीको नवनिर्माण प्रारम्भ हुनेछ ।

अहिले, यतिवेला नेकपाको जीवनसित गाँसिएर देशव्यापी रूपमा देखिँदै गएको सामाजिक जागरणलाई एउटा सार्थक अभियानका रूपमा अघि बढाउनु आवश्यक छ । नेकपाभित्र “आउट डेटेडहरू” बाहिरिने र “अपडेटेड“ भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेकोछ ! नेकपा त अघि बढ्छ-बढ्छ साथै, नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका अभियन्ताहरू-सबैका लागि एउटा महत्वपूर्ण शिक्षा बन्नसक्छ नेकपाको जीवनसित गाँसिएर प्रकट भएको अहिलेको घटना !

(उपप्रधानमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेको विचार साभार गरिएको हो-सम्पादक)

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार २२:०५