५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

जग्गाधनीलाई थाहा नदिई जग्गा बिक्री गर्ने मालपोतका कर्मचारी पक्राउ

१ माघ, कर्णाली । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ ।

फाइल फाेटाे

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भन्नुभयो, “पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।” प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार १६:३२