१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

धितोपत्र बजारमा कारोबारको राफसाफ ‘टी प्लस टु’मा हुने

२६ पुस, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा भएको कारोबारको राफसाफ तथा फर्स्योट चक्र ‘टी प्लस टु’ अर्थात् कारोबार भएको दुई दिनभित्रै सम्पन्न गर्न स्वीकृति प्रदान गरेको छ ।

धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोबार राफसाफ तथा फर्स्योट प्रणाली ‘टी प्लस टुु’मा गर्ने बोर्डको आव २०७७/७८ को नीति तथा कार्यक्रममा रहेको बोर्डले जनाएको छ ।

सो प्रणाली कार्यान्वयनमा ल्याउन सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आफ्नो विनियममा भएको हालको ‘टी प्लस थ्रि’लाई ‘टी प्लस टुु’मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेस गरेको थियो । बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फर्स्योट चक्र टी प्लस टुु गर्ने गरी धितोपत्र कारोबार राफसाफ तथा फर्स्योट विनियमावली, २०६९ मा सो प्रयोजनका लागि विनियममा संशोधन स्वीकृति गरेको हो ।

नयाँ व्यवस्था सीडीएस एन्ड क्लियरिङले सार्वजनिक सूचनामार्फत कार्यान्वयनमा ल्याउने व्यवस्था गरिएको बोर्डले जनाएको छ । धितोपत्र कारोबारको राफसाफ तथा फर्स्योट चक्र छोटिइ टी प्लस टुु कायम भएसँगै धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा छ ।

बोर्डले बुक विल्डिङमा आवेदन दिएका ४६ संस्थागत लगानीकर्ता पनि छनोट गरेको छ । बुक विल्डिङ प्रक्रियामा सहभागी हुन ६२ कम्पनीले आवेदन दिएकोमा ४६ वटा संस्थागत लगानीकर्तालाई स्वीकृत गरिएको हो ।

बुक विल्डिङका लागि निवेदन दिएको संस्थाहरूको वित्तीय र व्यवस्थापकीय पक्षको अध्ययन गरी ४६ वटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्न स्वीकृति दिएको बोर्डले जनाएको छ । योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन, भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सुसूचित तवरले धितोपत्रको आशयको मूल्य पेस गर्ने छ ।

यसबाट प्रारम्भिक सार्वजनिक मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका सङ्गठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा छ ।

प्रकाशित मिति : २६ पुष २०७७, आईतवार ०८:२८