२२ पुष २०८१, सोमबार | Mon Jan 6 2025

कांग्रेस सभापतिहरुको भेला आजदेखि, अन्तरघातीको सूची तयार हुने

५ असार, हेटौँडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला प्रदेश ३ को सदरमुकाम हेटौँडामा आजदेखि सुरु हुँदैछ । भेलामा निर्वाचनमा पराजयको भोगेको विषयमा निर्मम समिक्षा हुने बताएको छ । साथै पार्टीका उम्मेदवारलाई निर्वाचनमा पराजित गराउन भूमिका खेल्नेहरुको सूची तयार पारिने भेलामा सहभागी एक जिल्ला सभापतिले दैनिकीलाई जानकारी दिए ।

तीन दिन चल्ने भेला हेटौंडाको पल्पसा क्याफेमा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । भेलाका लागि पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरु हेटौंडामा जम्मा भएका छन् । भेलाको आज १२ बजे सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पहिलो दिनको उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका सीमित नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भेलाको दोस्रो दिन जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्नेछन् भने समापनको दिन ७ प्रदेशका ७ समूहबाट आएका सुझाव एकत्रित गरिने बताइएको छ । मूलतः विधान संशोधनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिहरूले पार्टीको पराजय, गुट, उपगुट, टिकट वितरण, विधान विपरीतका कार्य, प्रतिपक्ष दलको कमजोर भूमिका र सरकारका गलत कदमका विषयमा धारणा राख्ने भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार १०:२७