१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्री ओलीको १ सय १९ जनाको जम्बो टोलीसहितको चीन यात्रा अाजदेखि

५ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज १ सय १९ जना सहभागी टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन जान लागेका हुन् ।

भ्रमणका अवसरमा दुई पक्षीय सहयोग, सहकार्य र संयुक्त लगानीका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आफ्नो चीन भ्रमणबारे सोमबार दुवै सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछ्याङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएका हुन् ।

भ्रमणका क्रममा रेल–वे, पारवहन, क्रस बोर्डर ट्रान्समिसन लाइन, सातै प्रदेशमा विपद् उद्धार केन्द्र निर्माणमा चिनियाँ सहयोगलगायत विषयलाई प्रमुख एजेन्डा बनाएर छलफल गर्ने बताइएको छ ।

भ्रमणमा प्रधानमन्त्री ओलीले चीन सरकारसँग गरेका पुरानै १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने बताइएको छ । पुराना सहमतिसँगै ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनका विषयलाई नेपालका तर्फबाट जोड दिइने बताइएको छ ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ०७:१४