१२ फाल्गुन २०८१, सोमबार | Mon Feb 24 2025

‘प्रचण्ड र माधव नेपालमा अख्तियारले पूर्णता पाउँदा जेल पुगिन्छ भन्ने डर देखियो’

१६ पुस, प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदमा नियुक्ति हुन नदिन पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल समुहले ठुलै प्रयाश गरेपनि बिफल भएपछि पार्टीबाट बाहिरिएको तथ्य खोल्नुभएको छ । प्यूठानमा आज आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले यस्तो तथ्य खोल्नुभएको हो ।

‘पार्टीभित्रधको एउटा बिवाद अख्तियारलाई पुर्णता दिने कुरामा पनि रह्यो, अख्तियार खाली राख्नुपर्छ भन्ने कुरालाई अडान बनाउनु भयो, माधव प्रचण्डलाई अख्तियारमा मान्छे आयो भने जेल जान्छु भन्ने डर प्रष्टै देखियो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘त्यसैले अख्तियार खाली राख्नुपर्छ भन्ने पक्षमा उभिनु भयो । प्रधानमन्त्री अख्तियारसहित सवै संबैधानिक अंगमा नियुक्ति गराउने पक्षमा उभिनुभयो । जे–जे कुरा बाहिर भनेपनि अख्तियार खाली राख्नुपर्छ, नियुक्ति गरे जेल पुगिन्छ भन्ने कुरा देखियो ।’

प्रचण्ड र माधव नेपालले नेकपाभित्रै रहँदासमेत अख्तियारमा आफूहरुको साख मानिस नभए लडाकू र ललितानिवाश प्रकरणमा जेल पुग्ने निश्कर्ष निकालेको थियो । त्यही निश्कर्षका आधारमा प्रचण्ड र माधव नेपालले अख्तियार प्रमुखमा प्रेम राई कुनै हालतमा नियुक्त गर्न नहुने, आफूहरुलाई एक–एक आयुक्त दिनुपर्ने बिषयलाई सर्त बनाएको थियो । राईले कसैको कुरा नमान्ने र बदमासी गर्नेलाई नछाडने भएकोले प्रमुख आयुक्त बनाउन नहुने माधव र प्रचण्डको अडान थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ छवीका राईलाई अख्तियार प्रमुखमा सिफारिश गरेपछि दुवै नेता पार्टी नै बिभाजनको निर्णयमा पुगिसक्नु भएको छ । मुख्यमन्त्री पोखरेलले चुनावमा नजाने प्रचण्ड र माधव नेपालको धम्कीप्रति पनि कडा प्रतिवाद गर्नुभयो । चुनावमा जाँदा ब्यवस्था खतरामा पर्छ भन्ने तर्क जनताको अनुमतिबिनै मुलुक लुटने षडयन्त्रको संज्ञा पोखरेलले दिनुभयो ।

‘चुनाव जनतालाई बलियो बनाउनकै लागि हो । केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरेको छ भन्ने जनतालाई लागेको रहेछ भने भोट हाल्छन, ओली सरकारले राम्रो काम गरेको छैन भन्ने माधव–प्रचण्डको आरोप ठिक रहेछ भने उहाँहरुलाई नै हाल्छन, फैसला जनताले नै गर्ने हो नि, चुनावदेखि किन डराको ?’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

नेकपाका नेता पोखरेलले पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल सच्चिएर आए अझै एकसाथ अघि बढन सकिने बताउनु भयो । ‘एमाले र माओवादी एकतापछि केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा प्रचण्ड अहिले पनि अध्यक्ष हुँदै हुनुहुन्छ, सच्चिएर आउँछन भन्ने ठानेर अरु नेतामाथि पनि कार्वाही गरिएको छैन, अलिक गडबडी गर्न खाजेकोले अध्यक्षको कार्यकारी अधिकार मात्रै खोसिदिएको छ, अरु त बाँकी नै छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘सरकारलाई काम गर्न नदिएको र पार्टीमा गडबडी गरेकोमा प्रचण्डले क्षमा माग्नुभयो भने अझै मिलेर जान सकिन्छ । पार्टी एकता कायमै राखेर चुनावमा जान सकिन्छ । केही बिग्रिएको छैन ।’

मुख्यमन्त्री पोखेलले प्रचण्ड र माधव समुहमा देश, जनताको बिषय भन्दा आफ्नो ब्यक्तिगत सुखसयल र पार्टीको सम्पत्ति कब्जातिर रहेको तथ्य पनि खोल्नुभयो । ‘उहाँहरुको ध्यान देश र जनतातिर होइन, आफ्नो स्वार्थमा मात्रै केन्द्रित देखियो, खाता रोक्का गर्ने भनेको पार्टी नचलाउने भनेको हो, पार्टी नचलाई, जनताको बीचमा नगई चुनाव कसरी जित्न सकिन्छ ?’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘जनताको भाग्य र भबिश्यमा चिन्ता रहेछन, लोभ त पार्टीको सम्पत्तिमा रहेछ, त्यसैले पार्टीको सम्पत्ति कब्जा गर्नैतिर लाग्नुभयो ।’

प्रचण्ड र माधव चरम पदलोलुप रहेको केही दिनका घटनाक्रमले नै पुष्टि गरेको पनि उहाँले बताउनु भयो । ‘पदका लागि होइन भन्नुहुन्थ्यो, केपी ओलीसँग भएको दुईटा पद बाँडेर लिइसक्नु भयो । एउटा दलको नेता, अर्काे अध्यक्ष । यत्तिका लागि पार्टीमा बबण्डर गरेको तथ्य त आफै पुष्ट गरिसक्नु भयो । फेरि केको नाटक नि,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १७:४७