१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

महालक्ष्मी बैंक घोटाला प्रकरणः मुख्य आरोपी ज्ञवाली पक्राउ

१४ पुस, काठमाडौँ। ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य अभियुक्त पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंक घोटालाका मुख्य आरोपी पद्म ज्ञवालीलाई सोमवार पक्राउ गरेको हो ।

पाल्पा घर भएका ज्ञवाली काठमाडौँको चन्द्रागिरि नगरपालिका निवासी हुन । सिआइबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाका अनुसार ज्ञवाली सुन जाँचकी हुन । ‘उनी मुख्य व्यक्ति हुन्। उनीलगायत बैंकका कर्मचारीहरूको मिलेमतोमा कम धितो राखी बढी ऋण प्रवाह गरिएको डिआइजी थापाले जानकारी दिए ।

सिआइवीले सो बैंक घोटालाका प्रमुख ऋणीहरूलाई पक्राउ गरिसकेको छ । तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जना पक्राउ परेका हुन ।  हालसम्म पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक काठमाडौं महानगरपालिका ९ गौशालाकी ४२ वर्षीया स्मृति राना, पोखरा महानगर ९ घर भई चन्द्रगिर ११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर महानगर ११ बस्ने ३७ वर्षीय अनिशसिंह सिंजापती रहेका छन ।

प्रतिकात्मक तस्बिर ।

खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो । उनीहरू दुवै जना ललितपुरका सुन व्यवसायी हुन । उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका थिए । उनी ललितपुर १४ विशालचोका हुन । राईद्वयले २०७४ सालयता पटक पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिएका थिए ।

बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो । रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १३:४८