१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्रीको चिन भ्रमणमा लेटर अफ एक्सचेन्ज हुने

४ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ ।
चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “तपाईँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।”


पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गर्नुभएको थियो ।
परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटमा उहाँले भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा प्रवेश गर्ने र चीन– भारतबीचको बढ्दो समझदारीबाट नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नो आसन्न भ्रमणलाई चिनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहलकदमीका रुपमा अंगीकार गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाँच नाका खोल्ने समझदारी हुन गइरहेको छ ।

भ्रमणका अवसरमा समझदारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने जानकारी दिँदै उहाँले दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको बताउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणले विगतका समझदारी र सम्झौता कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो । “भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ, दुई देशबीच ‘कनेक्टेभिटी’का क्षेत्रमा महत्वपूर्ण समझदारी हुनेछ ,” परराष्टक मन्त्री ज्ञवालीले भन्नुभयो ।

केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी पनि उहाँले गराउनुभयो ।
पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना पनि दिनुभयो ।
नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन–भारत बीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताउनुभयो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताउनुभयो भने अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल र चीन बीचको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चिनिया लगानी भिर्याउने वातावरण बन्नु पर्ने राय व्यक्त गर्नु भयो ।

प्रकाशित मिति : ४ असार २०७५, सोमबार ०६:१२