१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिविले यसपटक हिउँदे बिदा नदिने

१० पुस, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस ९कोभिड–१९० को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो ।

त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिनुभयो । त्रिविले हिउँदे बिदा सधैँ नै यही पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो ।

कोभिड–१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन । त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ । रजिष्ट्रार डा दाहालका अनुसार अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् ।

त्रिविले कोभिड–१९ का कारणले अनलाइन कक्षा सञ्चालन गरेको थियो । उहाँले त्रिवि केन्द्रीय क्याम्पसमा पढाई सञ्चालन गर्न किर्तिपुर नगरपालिकाबाट अनुमति मागिएको बताउनुभयो । यस्तै उपत्यकाका क्याम्पस सञ्चालन गर्न पनि सरकारसँग अनुमति मागिएको छ । “उपत्यकाका कक्षा सञ्चालन गर्न सरकारसँग हामीले अनुमति मागेका छौँ”, उहाँले भन्नुभयो, “सरकारले पनि सबै ठाउँ खुला गरेको सन्र्दभमा क्याम्पस पनि सञ्चालन गर्न पक्कै दिने छ । हामीले स्वीकृति पाउनासाथ कक्षा सञ्चालन गर्ने तयारीमा छौँ ।”

यस्तै गत चैत ६ गतेदेखि रोकिएका त्रिविका परीक्षा पनि सञ्चालन भएका छन् । मङ्सिर दोस्रो सातादेखि त्रिविका रोकिएका परीक्षा सञ्चालन भएका हुन् ।त्रिविले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन हालको परीक्षा समयमै सम्पन्न गर्न एवम् अर्को वर्ष सेमेष्टरको बाँकी पढाइ पनि सम्पन्न गर्ने तयारी गरेको छ । उहाँले चैत्रभित्र सबै परीक्षा सञ्चालन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १८:३७