१० पुष २०८१, बुधबार | Thu Dec 26 2024

सहकारी बजारले सिधै किसानलाई लाभान्वित गर्छः मन्त्री अर्याल

१९ मंसिर, काठमाडाैँ । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरी उक्त बजारको उद्घाटन गर्नुभएको हो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो । नेपाल सरकार र युएनडिपीको सहकार्यमा बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित गरिएको छ ।

केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताउनुभयो । अहिले उत्पादनको समस्या नरहेको भन्दै मन्त्री अर्यालले उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको बताउनुभयो । ‘सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो । यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘सहकारीमार्फत उत्पादित सामग्री सहकारीमार्फत बजारीकरण गर्नका निम्ती यो कार्यक्रमको सञ्चालन गरिएको हो । यसलाई देशब्यापी बनाउन आवश्यक छ ।’

उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको भन्दै मन्त्री अर्याले यसलाई अझ बिस्तार गरिने बताउनुभयो । किसानले उत्पादन गरेको उत्पादित सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

‘किसानले उत्पादन गरेको तरकारी, अण्डा, फलफूल, दुध लगायतका सामग्री बाटोमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘किसानलाई उत्साहित बनाउन सकिएन भने, उत्पादन गरेर मात्र प्रगती हुँदैन । किसानहरुलाई उत्साहित बनाउन बजारको व्यवस्थापन आवश्यक छ ।’

 

यस्ता बजारहरु सरकारको पहलले मात्रै सबै ठाउँमा सम्भव नहुने भन्दै देशभर रहेको सहकारीहरुले पनि सहकार्य गर्न आवश्यक रहेको मन्त्री अर्यालको भनाई थियो । ‘सहकारीसँग प्रशस्त पैसा छ । उनीहरुसँग पैसाको कमी छैन । सहकारीबाट उत्पादित सामग्रीहरुको बजार व्यवस्थापनका निम्ती बजारको व्यवस्था गर्ने कार्यमा सहकारी संस्थाहरुले पनि लगानी गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

किसानहरुले मेहनत गरेर उत्पादन गर्ने तर, त्यसको नाफा विचमा रहेका विचौलियाले पाउने कुराको अन्त्य गर्नुपर्ने भन्दै उहाँले किसानहरुको मर्का सम्बोधन गर्नका निम्ती पनि सहकारी बजार कार्यक्रम उपयुक्त भएको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘सहकारी बजारमा रहेको बिचौलिया घटाउने । किसान र बजारलाई सिधै भेट गराउने माध्यमका रुपमा यसलाई सरकारले अगाडी बढाएको हो । यसले किसानहरु बढी लाभान्वित हुन्छन् ।’

जागीरे मानसिकता छाडेर व्यवसायकि मानसिकताको विकास मुलुकको समृद्धीसँग जोडिएको भन्दै उहाँले प्राकृतिक स्रोत र मानव स्रोतको समिश्रणबाट नै समृद्धी सम्भव भएको बताउनुभयो । सहकारी बजारले बढीभन्दा बढी अग्र्यानीक उत्पादनमा जोड दिनुपर्ने भन्दै उहाँले तरकारी, फलफूलमा प्रयोग भएका विषादीको परिक्षण गर्ने प्रविधिको पनि प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाहरु मुलुकमा अत्यधिक भएको भन्दै मन्त्री अर्यालले त्यसलाई मर्ज गर्ने अभियान सञ्चालन गरिएको र अब व्यवसायिकता, उत्पादनसँग जोडिएका सहकारीलाई जोड दिनुपर्ने बताउनुभयो । ‘अब संस्थाको संख्या मात्रै धेरै होइन । कम सहकारी संख्याका माध्यमबाट धेरैभन्दा धेरै काम गर्ने कुरामा जोड लिनुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १५:५६