१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

माउन्टेन इनर्जीको आईपीओ आज बाँडफाँड, ४ लाख ९१ हजार आबेदकको हात खाली

१७ मंसिर, काडमाडाैँ । माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओ  आज बुधबार १० बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आइतबार प्रि अलटमेन्ट सकाएर आज बिहान १० बजे आईपीओ बाँडफाँड गर्न लागेको जानकारी दिएको हो । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। यो मागभन्दा ७.६१ गुणा धेरै हो।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउँनेछन्। जस अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ०७:४५