२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कांग्रेसले १५ बेडमा रोकेको त्रिशुली अस्पताल वर्तमान सरकारले १०० बेडको बनायोः सांसद तामाङ

१५ मंसिर, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको बताउनुभएको छ । सोमबार नुवाकोटको ककनी गाउँपालिकामा ककनी अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै सांसद तामाङले केपी ओली नेतृत्वको वर्तमान सरकारले अब सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने गरी अस्पतालको निर्माण गरेको बताउनुभयो ।

उहाँले कांग्रेसीहरूले वर्षौदेखि सत्तामा राज गर्दा १५ बेडमा सीमित रेहको त्रिशुली अस्पताल अहिले कम्युनिस्टहरूको वर्तमान सरकारले १०० बेडको बनाउने निर्णय गरेर काम गरिरहेको बताउनुभयो । उहाँले वर्तमान सरकार जनताको अधिकार प्राप्तिमा क्रियाशिल रहेको भन्दै विगतको भन्दा जनतामा सुख र खुशी बढेको बताउनुभयो ।

सोही कार्यक्रममा नेकपा नुवाकोटका नेता एवं बागमती प्रदेशका सांसद बद्री मैनालीले कम्युनिष्टहरूले गाउँगाउँमा विकासको लहर सिर्जना गरेको बताउनुभयो । उहाँले अब कोही पनि नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर रहनु नपर्ने भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारले कसैलाई भोकै बस्न नदिने कसैलाई पनि उपचारबिहीन हुन नदिने बताउनुभयो ।

उहाँले विगतमा कांग्रेसीहरूले स्वास्थ्य चौकीमा कार्यरत अहेवलाइ समेत काजमा तानेर काठमाडौँमा नेताको चाकरीमा लगाउने गरेको भन्दै अहिले नेकपाका नेता समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भनुभक्त ढकालले गाउँगाउँमा स्वास्थ्यकर्मी पठाएको बताउनुभयो । सांसद मैनालीले मन्त्री ढकाललाई धन्यवाद दिँदै छात्रवृतिमा चिकित्सक पढेकाहरू समेत सबैलाई उपत्यकाबाहिर काममा पठाएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो ‘विगतमा नामको अघि डा झुण्डिएका व्यक्ति त्रिशुली अस्पतालमा देखिन कठिन हुन्थ्यो तर अहिले झण्डै दुइ दर्जन त्यस्ता चिकित्सकले दिनरात नभनी जनताको सेवा गरिरहेका छन ।’

सोही कार्यक्रममा नेकपा नुवाकोटका सचिवालय सदस्य एवं पर्यटन विभागका प्रमुख काशिराज अधिकारीले वर्तमान सरकारले स्वास्थय सेवामा आमूल परिवर्तन गरेको बताउनुभयो । उहाँले कोरोना नेपालमा देखिदाँ पत्ता लगाउनका लागिमात्रै विदेशमा नमुना लगेको उदाहरण पेश गर्दै वर्तमान सरकारले अहिले ५० भन्दा बढी त्यस्ता नमुना परीक्षण गर्न मिल्ने ल्याब सञ्चालन गरेको बताउनुभयो । सचिवालय सदस्य अधिकारीले त्यस्ता ल्याबहरू पनि झण्डै ८० प्रतिशत सरकारी नै रहेको बताउनुभयो । कोरोनाले त्रास र आर्थिक मन्दी निम्त्याएको भए पनि स्वास्थ्य क्षेत्रमा भौतिक र सेवामा गुणात्मक विकासमा भने अवसर सिर्जना गरेको बताउनुभयो । उहाँले सरकारले सबै पालिकामा अस्पताल स्थापना गर्ने लक्ष्यका साथ काम अघि बढाएको भन्दै अब कोही पनि स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहन नपर्ने बताउनुभयो ।

अस्पतालको शिलान्यास सांसदद्धय तामाङ र मैनालीले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख मानबहादुर लामा र उपाध्यक्ष सीता खतिवडाले पनि मन्तव्य राख्नुभएको थियो । ककनीमा यसअघि रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १० बेडको अस्पतालमा स्तरोन्नती गरिदैछ ।

  

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १९:३३