१९ पुष २०८१, शुक्रबार | Sat Jan 4 2025

नुवाकाेटकाे बेलकोटगढी नगरपालिकामा सोह्र नयाँ कानून जारी

१ असार, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको दोस्रो नगरसभाले विभिन्न १६ वटा नयाँ कानून कार्यान्वयनमा ल्याएको छ ।बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोरमा बुधबारको नगरकार्यपालिका बैठक र बिहीबार दोस्रो नगरसभा (व्यवस्थापिका बैठक) मार्फत सर्वसम्मतरुपमा पारित गर्दै ऐन, नियमावली, कार्यविधि आचारसंहिता समावेश भएको १६ वटा नयाँ कानून कार्यान्वयनमा आएको नगरका प्रमुख राजेन्द्ररमण खनालले घोषणा गर्नुभयो ।

खनालका अनुसार बेलकोटगढी नगरपालिका–११ का वडाध्यक्ष रामहरि पाण्डेको संयोजकत्वमा गठित विधेयक समितिले तयार बनाएको कानूनलाई नगरकार्यपालिका बैठक र दोस्रो नगरसभामा दफाबार छलफल तथा सभाका सदस्यहरुको राय र सुझावका आधारमा अन्तिम रुप दिएर कानून जारी गरिएको हो ।

कार्यान्वयनमा आएको कानूनमा बजार अनुगमन निर्दे्शिका, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्य्विधि, शिक्षा ऐन, सहकारी ऐन, राजपत्र प्रकाशनसम्बन्धी कार्य्विधि, आर्थिक कार्य्विधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, न्यायिक समितिले उजुरीको कारवाही (किनारा लगाउँदा अपनाउनुपर्ने) कार्य्विधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छ ।

यस्तै, अन्य कानूनमा प्रशासकीय कार्य्विधि नियमित गर्ने ऐन, करारमा प्राविधिक कर्मचारी व्यवस्थित गर्ने कार्य्विधि, निर्माण व्यवसाय ऐन, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्य्विधि, कृषि व्यवसाय प्रवद्र्धन ऐन, जलस्रोत उपयोगसम्बन्धी ऐन, नगरका पदाधिकारीको आचारसंहिता, उपभोक्ता समिति गठन (परिचालन व्यवस्थापन) सम्बन्धी कार्य्विधि र आर्थिक सहायता पुरस्कार कार्य्विधि रहेको छ ।

नगरपालिकाको नेतृत्व जनप्रतिनिधिले लिएको एक वर्षपछि बल्ल पहिलोपटक कानून जारी भएकाले काम, कारवाहीका लागि सहजता पुग्ने विश्वास लिएको उपप्रमुख कविता ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँको अनुसार नगरपालिकाको नियमित काम सञ्चालन गर्न कम्तीमा ४२ नयाँ कानून आवश्यक पर्ने भए पनि केन्द्रले पठाएको नमूनाको आधारमा विधेयक समितिमार्फत पहिलो चरणमा पहिलोपटक १६ नयाँ कानून बनाएर जारी गरिएको हो ।

राज्य पुनःसंरचनामार्फत साविकका छ गाविस समावेश गरी स्थापना भएको नगरपालिकालाई सेवा प्रवाहमा कानून, कर्मचारी र भौतिक संरचनाको अभाव मुख्य समस्या रहँदै आएको छ ।

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार १२:४७