१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको सञ्चालकमा नुवाकोटका न्याैपाने

१५ मंसिर, नुवाकोट । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको सञ्चालकमा नुवाकोट किस्पाङका विनोद न्याैपाने मनोनित हुनुभएको छ । प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी)को बैठकले न्याैपानेलाई पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको सञ्चालकमा मनोनयन गरेको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलको निजी सचिव समेत रहनुभएका न्यौपानेले दैनिकीसँग कुरा गर्दै आफ्नो मनोनयनबारे पुष्टि गर्नुभएको छ ।

यही मंसिर १३ गते शनिबार शिक्षा मन्त्री पोखरेलले शिक्षालयको औपचारिक रूपमा शुभारम्भ गर्नुभएको थियो । शिक्षालयको सञ्चालक समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल रहनु भएको छ भने अर्का एक जना सदस्यमा विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जित रहनुभएको छ । त्यस्तै दुई सदस्यको मनोनयन बाँकी रहेको छ । बाँकी दुई सदस्य अध्यक्षले मनोनयन गर्नुहुनेछ ।

शिक्षालयका लागि बाली विज्ञान, पशु विज्ञान र होटल व्यवस्थान, सिभिल इन्जिनियरिङको कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । सीटीभीटीको यो शैक्षिक कार्यक्रम सञ्चालन हुने नुवाकोट ६५ औँ जिल्ला हो । तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयले नुवाकोटको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १३:३१