१८ मंसिर २०८१, मंगलवार | Tue Dec 3 2024

माउन्टेन इनर्जीकाे आइपीओ बुधबार बाँडफाँड हुँदै, ४ लाख ९१ हजार जनाको हात खाली हुने

१४ मंसिर, काठमाडाैँ । माउन्टेन इनर्जीकाे आईपीओ बुधबार बाँडफाँड हुने भएको छ। आज प्रि अलटेमन्ट सकिएकोले बुधबार आइपीओ बाँडफाँड गर्ने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ।

कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। यो मागभन्दा ७.६१ गुणा धेरै हो।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउँनेछन्। जस अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो। आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको जनाउछ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १६:४१