३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

युनाइटेड इदी मार्दीको आइपीओ आइतबार बाँडफाँट हुँने, ४ लाख ५९ हजार बढीकाे हात खाली हुने

१३ मंसिर, काठमाडाैँ । युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ । आइतबार अपराह्न ४ बजे ग्लोबलको कार्यालय जमल, काठमाडौँमा बाँडफाँट हुने कार्यक्रम तय भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएकाे छ ।  यो आइपीओको प्रि–अलोटमेन्ट बिहीबार सम्पन्न भएको थियो । युनाइटेड इदी मर्दीको आइपीओमा ५ लाख ४१ हजार २६३ जनाले आवेदन दिएका छन् ।

सर्वसाधाणलाई छुट्याइएको ८ लाख १२ हजार ७३६ कित्ता सेयरका आधारमा ८१ हजार २७३ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ हात पार्नेछन् । बाँकी ४ लाख ५९ हजार ९८९ जना आइपीओ पाउनबाट बञ्चित हुनेछन् । यसमा कुल ९४ लाख ९८ हजार ४०० कित्ताका लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो ।

इदी मार्दीले मंसिर ३ देखि ७ गतेसम्म आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो । यसमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको सेयर सर्वसाधारणमा खुला गरिएको हो ।

केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । हाल यसले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार १३:२०