१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

कैलाली भन्सारबाट झण्डै ११ प्रतिशत बढी राजश्व संकलन

११ मंसिर, काठमाडाैँ । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार लक्ष्य भन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको छ । पहिलो चौमासिक अर्थात कात्तिक मसान्त सम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ ।

कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ४९ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कार्तिक महिनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

 

यस्तै पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले बताउनुभयो । पेट्रोलियम पदार्थ, खाद्य वस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ । यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्य भन्दा पनि बढी राजस्व उठने कार्यालयको दावी छ । यो कार्यालयले चालू आर्थिक वर्षमा ७ अर्ब ८७ करोड २ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ११:४६