१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

इन्फास्ट्रक्चर बैंकको आईपीओ प्रस्ताव पारित, ८ अर्बको शेयर निष्काशन गर्दै

४ मंसिर, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ प्रस्ताव पारित भएको छ । बैंकको बुधबार बसेको साधारणसभाले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको हाे ।

उक्त प्रस्ताव पारित भएसँगै आइपिओ निष्कासन गर्न बाटो खुलेको छ । यो आर्थिक वर्षभित्र नेपालकै एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो रकम बराबरको आइपिओ आउने निश्चित भएको हो । मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ ।

हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सो बैंकले सो आईपीओ निष्कासन गरेपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ नाघ्नेछ । यो पुँजी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये हालसम्मकै सबैभन्दा बढी हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १०:०४