११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

प्रिन्टर मेशिन जडान नभएका २१० ट्याक्सीलाई कारबाही

३० जेठ, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ ।विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको हो । विभागमा हाल १० हजार ६४४ ट्याक्सी दर्ता भए पनि आठ हजार ३५४ ले मात्र प्रिन्टर मिटर जडान गरेका छन् । दुई हजार २९० ट्याक्सीले हालसम्म पनि प्रिन्टर मिटर जडान नगरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पछिल्लो समय प्रिन्टर मेशिन जडान नगर्ने सवारीसाधनलाई विशेष कारबाही चलाएको जानकारी दिनुभयो । “प्रिन्टर मेशिन जडान नगरेका ट्याक्सीलाई ट्राफिक प्रहरीको सहयोगमा विभागको टोलीले अनुगमन गरेको र रु एक हजार जरिवाना तिराउँदै आएका छौँ उहाँले बताउनु भयो ।पक्राउ परेका ट्याक्सीमध्ये १८० ट्याक्सीले मिटर जडान गरेको र बाँकी ३० ट्याक्सी पनि मिटर जडान प्रक्रियामा रहेको विभागले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले प्रिन्टर मेशिन जडान गरेर पनि बिल नदिने ट्याक्सीमाथि महाशाखाले विशेष कारबाही गर्नेे बताउनुभयो । “प्रिन्ट बिल नदिने भए ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्नुको के औचित्य छ,”– उहाँले भन्नुभयो । हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी र देशभर झण्डै २८ लाख सवारीसाधन आवतजावत गर्छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार ०७:४०