११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

नुवाकोटको साततले दरबार पुनर्निर्माणमा चिनियाँ चासो, राजदूतबाट दरबारको अवलोकन

३० जेठ, नुवाकोट ।  तीन वर्षअघि गएको भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबारसहित आसपासका पुरातात्विक एवम् धार्मिक सम्पदाको पुनःनिर्माणको जिम्मेवारी लिएको चीन सरकारले काम शुरु गर्न चासो देखाएको छ । विदुर नगरपालिका–२ मा रहेको साततले दरबारसहितको आधा दर्जन सम्पदा निर्माण गर्न प्रतिबद्धता जनाएको चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यू हङसहितको उच्च अधिकारीहरुले आज भ्रमण गरी निर्माण शुरु गर्न लागेको जानकारी दिनुभयो ।  

साढे दुई सय वर्षअघि पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा नुवाकोटमाथि विजयी प्राप्त गरेपश्चात् निर्माण गर्न लगाएको दरबार २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि चीन सरकारको सहयोगमा पुनःनिर्माणको सम्झौता भएको थियो । आफ्नै इञ्जिनियरमार्फत क्षतिको लगत संकलन गरी पुनःनिर्माणको जिम्मेवारी लिएको चीन सरकारले आगामी भदौभित्र काम शुरु गर्ने जानकारी नेपाली पक्षलाई गराएको साततले दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

भूकम्पले नेपालमा पु¥याएको क्षतिको पुनःनिर्माणमा सहयोगको प्रतिबद्धताअनुसार चीन सरकारले साततले दरबारसहित त्यस परिसरमा रहेको रंगमहल, गारदघर, लामापाटी, सेतोपाटी, विष्णु र नारायण मन्दिर, तुलजा भवानीको मन्दिर पुनः निर्माण गर्ने जनाएको फुयाँलले बताउनुभयो । उहाँको अनुसार चीन सरकारले यहाँको सम्पदा पुनःनिर्माणका क्रममा निर्माणस्थल नुवाकोट दरबारबसम्म पुग्ने सडक साँघुरो भएको गुनासो गरेको छ भने बत्ती र पानीको व्यवस्थापन नेपाली पक्षले उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

भूकम्पको कारण नुवाकोटमा रहेको साततले दरबार क्षतिग्रस्त बनाएपछि पुनःनिर्माणको प्रतीक्षाका क्रममा चीन सरकारले निर्माणका लागि नेपालका लागि चिनियाँ राजदूत यू होङ सहितको उच्च अधिकारीहरु, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) का नेपालका लागि राष्ट्रिय निर्देशक रेनाउड मेयेरसहितको टोलीले साततले दरबारको सातौँ तल्लासम्म नै पुगेर अवलोकन गरेका हुन् ।

भूकम्पले क्षति पुगेपछि जोखिम रहेकाले सर्वसाधारणका लागि अवलोकन बन्द गरिएको दरबारको पुनःनिर्माण शुरु गर्न लागेको चिनियाँ राजदूतले जोखिम भवन भए पनि पुनःनिर्माणमा हालको मौलिकपन कायम राख्नुपर्ने भन्दै क्षतिग्रस्त संरचनाको सबै तलाको अवलोकन गर्नुभएको हो । भूकम्पले क्षति पुगेको साततले दरबारलाई अहिले टेको लगाएर राखिएको छ भने अन्य संरचना पूर्ण रुपमा क्षतिग्रस्त अवस्थामा रहेका छन् ।

–रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार ०५:३९