५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

पाेखरामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी गोष्ठी सम्पन्न

२८ जेठ,पोखरा । सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि रणनीतिक कार्ययोजना तयार पार्ने उद्देश्यले ‘सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमूलक गोष्ठी’ आइतवार पाेखरामा सम्पन्न भयो ।

प्रदेश नं ४ प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा भएको सो एक दिने गोष्ठीमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका ट्राफिक प्रहरी प्रमुखलगायत अन्य सरोकारवाला निकायको सहभागिता थियो ।

सो अवसरमा प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सवारी दुर्घटना न्यूनीकरणका साथै सडक सभ्यताको अभिवृद्धिमा सबै सरोकारवाला निकायको सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गोष्ठीबाट आएका सुझाव एवं निष्कर्षलाई कार्यान्वयनका लागि पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले समग्र ४ नं प्रदेशअन्तर्गतको सवारी दुर्घटनाको अवस्था, सवारी चाप, ट्राफिक प्रहरीको जनशक्ति, सेवा प्रवाहमा देखा परेका चुनौतीलगायतका विषयमा जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार ०८:५०