५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

उखु किसानको रकम भुक्तानी दिलाउछुःमन्त्री यादव

२८ जेठ, महोत्तरी । महोत्तरीका उखु किसानको रकम भुक्तानी दिलाउने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मूलढोकामा धर्नामा बसेका किसानकहाँ पुगेर अबको एक हप्तापछि उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिवद्धता मन्त्री यादवले व्यक्त गरेपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित भएको हो ।

मन्त्री यादवले किसानको समस्या समाधानका लागि उक्त अवधिमा आफू पूर्णरुपमा प्रयासरत रहने र सो समयमा भुक्तानी दिलाउन नसके आफू स्वयं किसानको पक्षमा धर्नामा बस्ने बताएपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित गरिएको हो ।

धर्नास्थलमा मन्त्री यादवले रकम भुक्तानीको समस्यालाई तत्काल समाधान गर्ने त्यसपछि उखु किसानको समस्याको स्थायी पहल उखु विकास बोर्डमार्फत् गरिने बताएका छन् ।

मन्त्रीको आश्वासनपछि २२ दिनदेखि जारी धर्ना कार्यक्रम स्थगित भएको छ । मिलको विभिन्न गेटमा किसानले लगाएको तालाबन्दी भने जारी नै रहेको उखु उत्पादक कृषक संघ महोत्तरीका पूर्वअध्यक्ष महाशंकर थिङले बताउनुभयो ।

महोत्तरीका किसानले उखु बिक्री गरेबापत रु एक अर्ब ७५ करोड रकम एकमुष्ट माग गर्दै गत जेठ ६ गतेदेखि तालाबन्दीसहित धर्ना कार्यक्रम जारी राख्दै आएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार ०८:०७