५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

बिप्लवका चितवन जिल्ला इन्चार्जले ढुङ्गा प्रहार गर्दा प्रहरी जवान घाइते

२७ जेठ, चितवन । बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते हुनुभएको हो । उहाँको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

धोबीको टाउकामा चोट लागेको आचार्यले बताउनुभयो । सो क्रममा बिसी भाग्न सफल भएको र उनका अंगरक्षक वीरबहादुर तामाङलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन नसकिएको आचार्यले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बिसीका अंगरक्षकले इँट्टा प्रहार गरेपछि बिसी भाग्न सफल भएको र प्रहरी जवान घाइते भएको बताउनुभयो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार ०९:१०