५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

पर्वतका सूर्यबहादुर सुनारको आग्लोले हानेर हत्या

२७ जेठ, पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ । स्थानीय थापाठाना बजारका विनोदविक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।

मादकपदार्थ सेवन गरेका सूर्य र उनकी श्रीमतीले विनोदलाई गालीगलौज गरेपछि उनीहरूबीच झगडा भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक यमबहादुर नेपालीले जानकारी दिनुभयो । झगडाकै क्रममा विनोदले सूर्यलाई पटक पटक नबोल्न आग्रह गर्दा नमानेपछि ढोकाको आग्लो प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उपचारका क्रममा नै सूर्यको शनिबार मृत्यु भएको हो । अभियुक्त विनोदलाई शुक्रबार राति नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ भने विनोदकी श्रीमती राधिकालाई पनि थप अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार ०८:३३