१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024

डराइ–डराइ पर्यटकको सेवा गर्छन् पर्यटन व्यवसायी

२९ असोज, इलाम । कोरोना महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । विशेषगरी पर्यटन क्षेत्रमा यसको असर एकदमै बढी प¥यो । बाह्रैमास पर्यटक आगमन हुने र पर्यटकको सेवाबाटै जीवन चल्ने पर्यटकलाई त यतिबेला पर्नु पीर परेको छ ।

गएको चैत पहिलो साताबाट बन्द भएका यहाँस्थित सूर्योदय नगरपालिकास्थित अन्तुका व्यवसायीलाई पनि यही पीडा परेको छ । दैनिक सयभन्दा बढी पर्यटक घुम्ने यो क्षेत्रमा करिब छ महिना पर्यटकको पाइला परेन । तर, अहिले केही पर्यटक आउन थालेका छन् । अन्तु घुम्नका लागि पर्यटक त आउन थालेका छन् तर यहाँका व्यवसायीलाई अर्को पीडा पर्न थालेको छ । गएको असोज १ बाट यहाँका घरवास (होमस्टे) खुलेका हुन् ।

यसैले विशेषगरी झापा, मोरङ, सुनसरी क्षेत्रका पर्यटकको वाक्लो चहलपहल छ । तर, कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यस क्षेत्रमा कोरोनाको जोखिम बढेको पर्यटन व्यवसायीको भनाइ छ । लामो समय शून्यता छाएकाले होमस्टे खुलाए पनि थप जोखिम बढ्ने सम्भावना रहेकाले समस्या थपिएको पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ । “पर्यटकको बाक्लो उपस्थिति छ, त्यसैले समस्या थपिएको पनि छ ।”

घिमिरेका अनुसार कोरोनालाई मध्यनजर गर्दै अन्तुमा नयाँ मापदण्ड पनि बनाइएको छ । अन्तुमा बास बसेर फर्किने जाने पर्यटकलाई स्वागत र बिदा गर्दा फूलको गुच्छा दिने चलन हटाइएको छ भने पर्यटक आउनेबित्तिकै अनिवार्य स्यानिटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था बनाइएको छ । यस्तै, भौतिक दूरी कायम गर्नुपर्ने, धेरै जना पर्यटक आउन नपाइनेसमेत व्यवस्था छ भने तर यी नियम पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सकिएको छैन । अन्तुमा मात्र होइन, जिल्लाका अन्य पर्यटकीय क्षेत्रको हविगत पनि अन्तुको भन्दा फरक छैन । कोरोनाले पर्यटकीय क्षेत्रमध्ये पनि होटलमा सबैभन्दा बढी नोक्सानी परेको छ । यसैले यो लगानी उठाउनै पनि अहिले होटल खुलेका छन् । यद्यपी कोरोनाको जोखिमले गर्दा खोल्नु वा बन्द गर्नुको स्थितिमा होटल व्यवसायी पुगेको उनीहरू सुनाउँछन् ।

“नयाँ मापदण्ड पालना गरेर खोल्यौँ तर कार्यान्वयनमा समस्या भएकाले जटिल भएको छ”, होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौड्यालले भन्नुभयो, “पर्यटक इलाम आउन चाहनुहुन्थ्यो । ल्याउने व्यवस्था पनि गरियो तर समस्या बढ्यो ।” ठूलो घाटा बोहेरिसकेपछि जोखिम मोलेरै अगाडि बढ्न होटल सञ्चालनमा ल्याइएको अध्यक्ष पौड्यालको भनाइ छ । कोरोनाका कारण जिल्लाका ६० ठूला होटलमा प्रतिदिन रु ४० हजारका दरले, मझौला २०० होटलमा प्रतिदिन रु २० हजार र साना १९० होटलमा रु छ हजार घाटा भएको बताएका छन् ।

यस्तै, ठूला होटलबाट ६ हजार , मझौलाबाट एक हजार २०० र साना होटलबाट ५७० जना कामदार बेरोजगार रहेको तथ्याङ्क छ । गएको वर्ष जिल्लामा एक लाख ६३ हजार पर्यटक भित्रिएकामा यस वर्ष दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको तर सिजनमै बन्द भएपछि एकतिहाइ पर्यटक नभित्रिने पर्यटक व्यवसायीको गुनासो छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ०८:३०