१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024

सहस्राब्दी पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

२० असोज, काठमाडाैँ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण झण्डै छ महिनायता सुनसान बनेको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीमा रहेको यो पदमार्ग अघिल्लो वर्ष चैतदेखि जारी बन्दाबन्दीपछि सुनसान बनेको थियो ।

बन्दाबन्दी खुलेसँगै पर्यटन क्षेत्र सञ्चालनमा आएका कारण पछिल्लो समयमा पदमार्ग क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले पदयात्रा मार्ग र यसका सम्भावनालाई उजागर गर्दै अधिकतम पर्यटकलाई उक्त क्षेत्रमा पु¥याउने दीर्घकालीन सोचका साथ पूर्वाधार विकासका कामलाई पनि उच्च प्राथमिकतामा राखेको छ ।

पदमार्ग क्षेत्रमा पर्ने धार्मिक एवम् ऐतिहासिक स्थल, दृश्यावलोकन स्थल, घरवासलगायत विषयलाई समेटेर विस्तृत गुरुयोजना बनाइएको उहाँले बताउनुभयो । समितिले पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्की लगायतको संरक्षण र उपयोग गर्दै यहाँको पर्यटकीय विकास गरिरहेको गुरुङले बताउनुभयो ।

पदयात्रा पर्यटनको विकासका लागि उत्पादन हुने क्षेत्रको पहिचान गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको समितिले पूर्वाधार एवम् स्थानीयवासीको क्षमता विकासका साथै अध्ययन अनुसन्धानको पाटोलाई निरन्तरता दिने तयारी गरेको छ । छवटा प्रमुख उद्देश्यका साथै अन्य २४ वटा रणनीतिक उद्देश्यसहित पाँच वर्षको अवधिमा विभिन्न ९२ वटा कार्यक्रम सञ्चालन गर्ने विषयलाई समितिले गुरुयोजनामा समेटेको छ ।

पदयात्रा मार्गमा पर्यटक लक्षित होटेल ता रेष्टुरेन्ट खोल्ने क्रमले पनि गति लिएको र हाल १७ वटा होमस्टे सञ्चालनमा आइसकेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैंसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो । प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस क्षेत्रमा प्रचलित मगर समुदायको सोरठी, यानीमाया, गुरुङ समुदायको घाटु, ब्राम्ह्ण, क्षेत्रीको बालन लगायतका संस्कृतिको संरक्षणलाई पनि जोड दिएको उहाँले बताउनुभयो ।

विश्वमा नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर यस क्षेत्रमा पर्याप्त पाइने र चरा पर्यटनमा रुचि राख्नेहरूका लागि पनि यो पदमार्ग आकर्षक गन्तव्य बन्दै गएको उहाँको भनाइ छ । पदमार्गमा आउने पर्यटकलाई आफू पुग्ने स्थानको जानकारी होस् भन्ने उद्देश्यका साथ अघिल्लो वर्ष विभिन्न ४० स्थानमा सङ्केत दिने सूचना पाटी राखिसकिएको छ । गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र ‘भिजिट नेपाल २०२०’ समेतलाई लक्षित गरी पूर्वाधार निर्माण अघि बढाइएको भए पनि एकाएक रुपमा फैलिएको कोरोना भाइरसले विकास निर्माणमा प्रभाव पारेको महासचिव गुरुङको भनाइ छ ।

झण्डै छ महिनाभन्दा बढी सुनसान बनेको पदमार्ग क्षेत्रमा कोरोना सङ्क्रमणका बाबजुद सुरक्षा मापदण्ड पालना गर्दै पूर्वाधार विकासका धेरै काम गर्न सकिएको उहाँले बताउनुभयो । आन्तरिक पर्यटकको आगमनले पुनः उत्साहित बनाएको बताउँदै उहाँले पर्यटक लक्षित पूर्वाधार एवम् अन्य कार्यक्रमलाई अघि बढाउँदै जाने बताउनुभयो ।

सन् २००० बाट खुलेका कारण मिलेनियम (सहस्राब्दी)पदमार्ग नामकरण गरिएको यस पदमार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छुन्छ । कूल ६ रात ७ दिनमा यात्रा गर्न सकिने यस पदमार्गको कोल्माकोट, भैंसेगौंडा, फारथुँ, बुढाकोट लगायतका स्थानबाट एकसाथ धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ«े, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । पदयात्रा मार्गका १७ गाउँमा सञ्चालित सामुदायिक होमस्टेमा स्थानीय परिकारको स्वाद लिन पाइने मिलेनियम ट्रेक व्यवस्थापन समितका सदस्यसमेत रहेका मिलेनियम भैंसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो । “पछिल्ला दिन होमस्टेमा समूहगत रुपमा आन्तरिक पर्यटक आउने क्रम बढिरहेको छ, लामो समयसम्म रोकिएका पर्यटकीय गतिविधि आगामी दिनमा राम्रैसँग बढ्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार २३:१०