५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

महिला सहकर्मीसँग नाचेको भन्दै टेलिभिजनका मालिकले कर्मचारीको दाँत भाँचे !

२३ जेठ, काठमाडाैँ । हेल्थ टेलिभिजनका अध्यक्ष डा बिनित वैद्यले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन । नेशनल बाथ रोग सेन्टरका प्रमुख समेत रहेका वैद्यले सेन्टरको मंगलवार भएको वार्षिकोत्सवकोे पार्टीमा टेलिभिजनको एम सी आरमा कार्यरत किरण मगरलाई दाँत नै भाँच्चिने गरी कुटपिट गरेका हुन ।

वैद्यले महिला साथीसंग पार्टीमा नाचेको निहुँमा मगरमाथि एक्कासी मुक्का प्रहार गरेको पीडित मगरले अारोप लगाएका छन । उनले पहिले पनि उक्त महिला सहकर्मीसंग बोल्दा वैद्यले आँखा तर्ने गरेको अारोप लगाए । साथीहरुसँग रमाइलो गर्दै नाचिरहेका बेला एक्कासी भिडबाट तानेर मगरलाई कुट्न थालेपछि उनका सहकर्मीले उनलाई बचाएका थिए । पीडित मगरले भने “पार्टीमा नाचिरहेका थियौं , त्यही बेला म पानी खान निस्केको मात्र के थिएँ डा बिनितले एक्कासी बाघले झम्टे झै कुट्न थाले । म त शुरुमा जिस्केको होला जस्तो लाग्यो पछि बाथ रोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपति र हेल्थ टेलिभिजनका मानव संसाधन प्रमुख बिनोद थापाले पनि कुट्न थाले’ । त्यसपछि ज्यान जोगाएर त्यहाँबाट बाहिरिए ।’

मगरका सहकर्मी प्रत्यक्षदर्शी बलुराम जोशीले नाचिरहेका मगरलाई डाक्टर बिनितले एक्कासी झम्टिँदा आफू अचम्ममा परेको बताए । चिकित्सक जस्तो मर्यादित पेशामा रहेका वैद्यले आफनै कर्मचारी कुट्न पछि नपरेपछि बलुराम सहित  हेल्थ टेलिभिजनमा कार्यरत अन्य कर्मचारीहरु राजिनामा दिने  मनस्थितिमा पुगेका छन ।

यता  प्रत्यक्षदर्शी समेत रहेका बाथ रोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले घटनाबारे स्वीकार गर्दै मगरले मदिरामा मात्तिएर महिला सहकर्मीलार्इ अभद्र व्यवहार गरेपछि बल गरेर निकालेको बताए । उनले मगरले अारोप लगाएको जस्तो कुटपिट गरेको नभइ उनी नै नियन्त्रणबाहिर गएपछि केही साथीहरूकाे सहयाेगमा नृत्य गरिरहेको ठाउँबाट हटाइएको बताए ।

औषधि कम्पनीसँग मोटो रकम लिँदै विरामीलाई अत्यधिक औषधि भिडाउने गरेको अारोप लागेका बिनितले नाफाको उद्देश्यले एक वर्षअघि हेल्थ टेलिभिजन सन्चालनमा थिए । यद्यपी परिक्षण प्रसारण नहुँदै टेलिभिजनकी प्रधान सम्पादक कल्पना आचार्यले राजिनामा दिएपछि टेलिभिजन लगभग बन्द हुने अवस्थामा पुगेको कर्मचारीले बताएका छन । शुरुमा नाफा हुन्छ भनेर उत्साही बनेका वैद्यले तुरुन्त नाफाको अपेक्षा गर्ने मात्र हैन व्यावसायिक पत्रकारिताको मूल्य मान्यता विपरित काम गर्न थालेको भन्दै आचार्यले राजिनामा दिएकी थिइन ।

त्यसो त वैद्यसंगकै खटपटका कारण टेलिभिजनकी प्रबन्ध निर्देशक सबिना श्रेष्ठले पनि यस अघि नै छोडिसकेकी छिन । यसैगरी सिनियर क्यामेरापर्सन रबिन्द्र डंगोल र राकेस डंगोलले पनि वैद्यकै कचकचका कारण टेलिभिजन छोडिसकेका छन । केही केवलमा मात्र प्रसारण भइरहेको टेलिभिजनमा डा वैद्यले यतिखेर केही इन्टर्न र केही आफनै बाथ रोग सेन्टरका कर्मचारी राखेर टेलिभिजन सन्चालन गरिरहेका छन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार १८:२१