१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकोटको किस्पाङको पाखामा शिक्षाको ज्योति छर्ने नन्दरामलाई प्रवल जनसेवा श्रीबाट सम्मान गरिने

३ असोज, काठमाडाैँ । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा अवस्थित ऐँसेलुभूमे माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष  नन्दराम न्यौपाने प्रवल जनसेवा श्री (चतुर्थ)बाट सम्मान हुने भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएका महत्वपूर्ण व्यक्तिलाइ प्रदान गरिने सम्मान अन्तगर्त शिक्षासेवी न्याैपानेलाइ पनि प्रवल जनसेवा श्री (चतुर्थ)बाट सम्मान गर्ने घोषणा गर्नुभएको छ । गृह मन्त्रालयले शनिबार प्रकाशन गरेको सूचीमा न्याैपानेको नाम ४२ नम्बरमा रहेको छ । 

३१ वर्षदेखि विद्यालय व्यवस्थापन समितिमा रहेर नमुना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका न्याैपाने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका जिल्ला कमिटीका सदस्य समेत हुन । वि.सं. २०४६ सालमा विद्यालयको सुरुआत भयो । तर, स्रोत नभएर झण्डै १२ वर्ष प्राथमिक विद्यालयकै अवस्थामा रह्यो । न्याैपानेको जोडबलमा विद्यालय २०५८ सालमा बल्ल निमावि बन्यो ।

जुनबेला नन्दरामले ठूलै युद्ध जितेको अनुभुति गरेका थिए । २०६६ सालमा नन्दरामकै अगुवाइमा ऐँसेलुभूमे माध्यमिक विद्यालय बन्न सफल भयो । देशभरका २२२ नमुना विद्यालय मध्येको एक ऐँसेलुभूमे नुवाकोट जिल्लाको एकमात्र नमुना विद्यालय हो । २०६९ देखि उच्च मावितर्फको पनि पठनपाठन सुरु गरेको ऐँसेलुभूमेले २०७१ सालको एसएलसी नतिजामा सामुदायिकतर्फ जिल्लाका सबै विद्यालय उछिन्यो । त्यसपछि भने नन्दरामले विश्राम लिन खोजेका थिए ।

अगुवाइको जिम्मेवारी अरूकै काँधमा सुम्पिएर र आफू परै बसेर विद्यालयको प्रगतिको साक्षी बन्न मन लागेको थियो । तर अभिभावकहरूले उनलाइ विश्राम लिन दिएनन् । ऐँसेलुभूमेको विद्यालय व्यवस्थापन समितिको नेतृत्व ३१ वर्षदेखि नन्दरामकै काँधमा छ । तदर्थ समिति बन्दा केही महिना सूर्यबहादुर वाइवा संयोजक बनेका थिए । त्यसपछि नन्दराम अबिराम छन् । उनै नन्दराम सरकारले प्रदान गर्ने विभुषणबाट आगामी वर्षको जेठ १५ गते विभुषित हुनेछन ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १३:२०