५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कतारी नागरीकको हत्या अभियोगमा कतार अदालतद्वारा एक नेपालीलाई मृत्युदण्ड दिन आदेश

२१ जेठ, काठमाडौँ । कतारी नागरीकको हत्या गरेको अभियोगमा कतार अदालतद्वारा एक नेपालीलाई ‘गोली हानेर’ मृत्युदण्ड दिने फैसला सुनाएको छ ।कतारी नागरीक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा अनिल चौधरीलाई तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले सो फैसला सुनाएको हो ।

महोत्तरीका चौधरी कतारी नागरीक अल नुएमीको हत्या अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । हालसम्म हत्या अभियोग लागेका नेपालीहरु मध्ये चौधरीविरुद्व आएको आदेश सबैभन्दा कडा रहेको छ ।

घटनाको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन । कतारस्थित नेपाली दूतावासले चौधरीको सहमतिमा पुनरावेदन गरिएको जनाएको छ । सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च ३० हजार रियाल राजदूतावासले सरकारसँग माग गरेको छ ।

बोर्डले बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल भइरहेको जनाएको छ । चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार वास कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको छ ।

नेपालीद्वारा कतारी नागरीकको हत्या गरिएको यो नै पहिलो घटना हो । कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १४:०१