५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गर्ने तीन जना पक्राउ

२१ जेठ, पर्वत । अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ परेको छ ।

म्याग्दी जिल्लाको साविक मल्कावाङ गाविस–१ स्थायी भई पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा बस्ने २६ वर्षीय मंगले भन्ने अनिल विकलाई प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । बिकले शुक्रबार राति १० बजे कुश्मा नगरपालिका–४ स्थित मांझमेला भन्ने स्थानको सामुदायिक जंगलको खाली ठाउँमा लगेर १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतबाट ५०० मिटरको दूरीमा पर्छ । पीडित युवतीलाई तत्कालै जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो भने पीडकलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

यसैगरी जलजला गाउँपालिका–७ का २० वर्षीय बाबुराम परियारलाई पनि १३ वर्षीया अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । परियारले आइतबार बिहान १० बजेको समयमा पीडित बालिकाको घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए । त्यतिनै बेला पीडितकी आमाले देखेपछि उद्धार गरेर प्रहरीमा खबर गरेकी थिइन् ।

पीडक परियारलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । पर्वतको कुस्मा नगरपालिका–८ चुवाका दुर्गाबहादुर क्षेत्री आफ्नै सालीलाई बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका थिए । पीडककी श्रीमती घरमा सुत्केरी छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ०९:२६