२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

३३ प्रतिशतको प्रावधान लत्याउँदा नेकपाको दर्ता अन्योलमा, केन्द्रीय समितिको संख्या बढ्ने सम्भावना

२१ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता प्रक्रियामै अल्झिएको छ । महिलाहरुको प्रतिनिधित्वको सवालमा अनुदार देखिएको नेकपालाई निर्वाचन आयोगले सचेत गराएको छ । आयोगले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित नगरे दल नै दर्ता नगर्ने संकेत दिएको छ । अहिले रहेका महिलाको संख्या दोब्बर बनाउँदामात्र नेकपामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुग्ने देखिन्छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि गठन भएको नेकपाको केन्द्र्रीय समितिमा हाल ४ सय ४१ सदस्य छन् । जसमा महिलाको संख्या ७२ मात्र छ । यो कुल संख्याको १६ प्रतिशत मात्रै हो । दल दर्ताका लागि पार्टी दर्ता ऐन २०७४ को धारा १५ (४) बमोजिम महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य हुनुपर्ने प्रावधान छ ।

दल दर्ता ऐन बमोजिम समावेशिताको सिद्धान्त नेकपाले पालना नगर्दा समस्या देखिएको हो । नेकपाको दल दर्ताको फाइल अयोगको कानुन शाखामा अध्ययनका क्रममा रहेकाले औपचारिक निर्णय भने आएको छैन । निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलका अनुसार नेकपाले अब कि त महिलाको संख्या बढाउन केन्द्रीय समितिको संख्या विस्तार गर्नुपर्नेल कि त पुरुषलाई हटाएर महिलाको संख्या थप्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ०८:३८