१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

डा युवराज खतिवडा अर्थमन्त्रीबाट विदा हुने भएपछि सेयर लगानीकर्ताहरू खुशी

१८ भदौ, काठमाडौँ । डा युवराज खतिवडा अर्थमन्त्रीबाट विदा हुने भएपछि सेयर लगानीकर्ताहरू खुशी देखिएका छन । सुरूवाती दिनदेखि डा खतिवडाको नीतिले सेयर बजार ओरोलो लागेको भन्दै आन्दोलनसमेत गर्न भ्याएका सेयर लगानीकर्ताहरू खतिवडाको बहिगर्मन निश्चित भएसँगै खुशी देखिएका छन ।

सेयर कारोबारका विभिन्न ग्रुपहरूमा प्रतिक्रिया जनाउँदै उनीहरूले अब सेयर बजार बुझेको अर्थमन्त्री आउनुपर्ने बताएका छन । सेयर बजार परिसूचक नेप्से ओरोलो लाग्ने वित्तिकै लगानीकर्ताहरूले अर्थमन्त्रीको विरूद्धमा समाचार लेख्न लगाउनेदेखि लगानी नै गरेर आन्दोलन उठाउनेसम्मको काम विगतमा गरेका थिए ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिश हुने जानकारी गराएसँगै डा खतिवडा यसै सातादेखि सरकारबाट बाहिरिने निश्चित भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्न मिल्ने कोटामा गौतमको नाम सिफारिस भएपछि उनी सरकारबाट बाहिरिने छन ।

सरकारबाट बाहिरिएसँगै खतिवडा अब प्रतिनिधिसभाको यो कार्यकालभर पुन मन्त्री पदमा नियुक्त हुन पाउने छैनन् । दोस्रो पटक अर्थमन्त्रीमा नियुक्त भएका खतिवडाले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्थ्यो । तर त्यो हुन नसक्ने भएको छ । उनकै कार्यकाल सकिएर खाली भएको राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष गाैतमको नाम सिफारिस हुँदैछ ।

संविधानको धारा ७८. को उपधारा १ बमोजिम दोस्रो कार्यकालका मन्त्री भएका खतिवडा सोही संविधानको सोही धाराको उपधारा २ र ३ अनुसार अब संघीय संसदको यही कार्यकालमा मन्त्री हुन सक्नेछैनन् ।

यस्तो छ संविधानको धारा ७८को व्यवस्था

(१) धारा ७६ को उपधारा (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ ।

(२) उपधारा (१) बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्नेछ ।

(३) उपधारा (२) बमोजिमको अवधिभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभर निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन ।

(४) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १९:००