२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

त्रिशुली अस्पतालमा सर्जरी विशेषज्ञ सेवा सुरू, एपेनडिसाइटिसको शल्यक्रिया नुवाकोटमै हुने

१६ भदाै, नुवाकोट । नुवाकोटको जिल्ला अस्पताल त्रिशुली अस्पतालमा सर्जरी विशेषज्ञ सेवा सुरू भएको छ । त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले त्रिशुली अस्पतालामा विभिन्न रोगका विशेषज्ञ सेवा उपलब्ध गराउने प्रयत्न स्वरूप तत्कालका लागि सर्जरी विशेषज्ञ सेवा सुरू गरिएको दैनिकीलाइ जानकारी दिनुभयो ।

त्रिशुली अस्पतालको सर्जरी विभगको नेतृत्व डा प्रेम प्रकाश पाैडेलले गर्नुभएको छ । केही समअघिमात्र त्रिशुली अस्पतालमा अाइपुगेका पाैडेलले विशेषज्ञ सेवाको रूपमा सर्जरीको सेवा सुरू गराउनु भएको हो । योसँगै नुवाकोट, धादिङ र रसुवाको धेरै सेवाग्राहीले त्रिशुली अस्पतालमै सेवा पाउने भएका छन ।

यसअघि सामान्य खालका शल्यक्रिया समेत नुवाकोटमा नहुँदा बिरामीलाइ एम्बुलेन्समा राखेर काठमाडाैँ कुदाउनुपर्नेल बाध्यता रहेको थियो । एपेनडिसाइटिसको समयमै शल्यक्रिया नहुँदा ग्रामिण भेगका कतिपय मानिसले विगतमा अकालमै ज्यान समेत गुमाएका छन । त्रिशुली अस्पतालमा सबै खालको विशेष सेवा उपलब्ध गराउनका लागि पहल गरिरहेको अस्पतालका अध्यक्ष अर्जुन न्याैपानेले जानकारी दिनुभयो ।

हर्निया के हो ?

शरिरको कोही अंग जब आफ्नो ‘कन्टेनिङ क्यापासिटी’ अर्थात् आफ्नो खोल वा झिल्लीबाट बाहिर निस्कन्छ भने त्यसलाई हर्निया भनिन्छ । यसमा बिरामीलाई अत्यधिक पीडा, हिँड्डुलमा समस्या र बान्ता हुनेलगायतका सम्भावना हुन्छन् । यो साधारणतया शरिरको कुनै पनि भागको मासंपेशी कमजोरी लगातार पर्ने दबाबका कारण हुने गर्दछ । पेटको शल्यक्रियापश्चात् हर्निया हुनु निकै साधारण हो ।

हुन त शरिरको विभिन्न भागमा हर्निया हुनसक्छन् तर केही हर्निया मिल्दाजुल्दा छन् । कन्जिनियल अर्थात् जन्मजात हुने हर्निया निकै विरलै हुन्छन् । यो धेरैजसो पुरुषलाई हुने गर्दछ । यसमा अण्डकोष बाहिर निस्कने गर्दछ । बच्चाहरुलाई यस्तो रोग लागेको छ भने उनीहरु हिँड्नु अघि नै शल्यक्रिया गराइन्छ । बच्चा यदि १० किलो तौल पुगे शल्यक्रिया गरिन्छ । थुप्रै पटक यो आफैं ठिक हुने गर्दछ ।

हाइड्रोसिल के हो ? 

हाइड्रोसिल अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोग हो । हाइड्रोसिल भनेको पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुनु हो। हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुनिएको वा ठूलो भएको जस्तो देखिन्छ। हाइड्रोसिलले कहिले दुखाइ पैदा गराउदैन तर अण्डकोषको आकार भने ठूलो बनाउँछ। यसको उपचार सामान्य शल्यक्रिया नै हो । नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको कार्यक्रम पनि ल्याएको थियो ।

एपेन्डिक्स के हो ?

एपेन्डिसाइटिस शरीरको एपेन्डिक्स नामक आन्द्राको भागमा हुने रोग हो । शरीरमा हुने छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ । जसको लम्बाइ दुईदेखि तीन इन्चसम्मको हुन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । एपेन्डिक्समा हुने दुखाइ र यो सुन्निनुलाई एपेन्डिसाइटिस भनिन्छ । एपेन्डिसाइटिस पेटको दुखाइबाट सुरु हुने गर्छ । यस्तो दुखाइ पटक–पटक हुन्छ । बिस्तारै दुखाइ पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ । र, बिस्तारै दुखाइले गम्भीर रूप लिन थाल्छ ।

जसलाई एपेन्डिसाइटिस हुन्छ उसलाई भोक कम लाग्ने, अनुहार रातो देखिने हुन्छ । एपेन्डिसाइटिस भए छोटो समयमै पेटको सर्जरी गर्नुपर्ने हुन्छ । यस्तो अप्रेसनलाई एपेन्डेटोक्मी भनिन्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ । किनभने, एक त यसको स्पष्ट निदान गर्न गाह्रो छ । अर्को एपेन्डिक्स फुट्नुभन्दा शल्यक्रिया गर्नु कम जोखिमयुक्त हुन्छ । यसको शल्यक्रिया गर्दा अन्य दीर्घकालीन समस्याबाट पनि बच्न सकिन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १५:३३