१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा पदभार ग्रहण

१ साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २०७७ भाद्र १ गते सोमबारदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो पदभार ग्रहण गर्नुभएको हो । पदभार गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उहाँलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले अहिलेको बैंकिङ्ग क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताउनुभयो ।“उहाँ एक अब्बल बैंकर हो । ग्लोबल आइएमईले उहाँलाई दोस्रो कार्यकालका लागि पाएको छ । यो हाम्रो लागि पनि एउटा अवसर हो । यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उहाँले खेलेको भूमिका सराहनीय रहेको थियो ।

अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्न उहाँको भूमिका रहने छ,” ढकालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुवै रहेको बताउनुभयो ।

उहाँले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको बताउनुभयो । “मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पुर्याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी मैले काम गर्नेछु ।” उहाँले भन्नुभयो ।

बैंकको सञ्चालक समितिको २०७७ श्रावण ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसक्नु भएको छ ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरुगर्नुभएका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसक्नुभएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १३:५९