१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त

३२ साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको २०७७ साउन ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरिसक्नु भएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।

वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसक्नुभएको छ । उहाँले भाद्र १, २०७७ देखि ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा पदबहाल गर्नुहुनेछ ।
गत मंसिर २०, २०७६ देखि ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई एकिकृत कारोबार सुरु भएपछि ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार २०:२९