१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेले दियो साथ

३२ साउन, काठमाडाैँ । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फाेनपे पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ । यस अभियान अन्तरगत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ ।

भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा रू १ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गर्नुभयो । भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ ।

सम्झौतापछि एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भन्नुभयो ‘यो विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ’। नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन् ।

नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यही रिक्तता पुर्ति गर्नका लागि भेन्टिलेटर बैंकले यो अभियान सुरू गरेको हो । यस किसिमको पूर्वाधारको विकास समुदायको प्रतिवद्धता र रचनात्मक प्रयासहरूले सम्बोधन गर्न सकिन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार १९:५२