२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

त्रिशुली अस्पताल आइपुग्यो स्वास्थ्य मन्त्रालयले दिएको भेन्टिलेटर, सांसद पाण्डले गरे हस्तान्तरण

–प्रशान्तजंग पाण्डे 

३१ साउन, नुवाकोट । नुवाकोटको त्रिशुली जिल्ला अस्पतालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको एक थान भेन्टिलेटर शनिबार नुवाकोट आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता एवं बागमती प्रदेशका नेकपाका सचेतक केशव पाण्डेको पहलमा उपलब्ध भेन्टिलेटर स्वयं पाण्डेले शनिबार त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेन रेमकुमार राइलाइ हस्तान्तरण गरे ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर सांसद पाण्डे नेतृत्वको नेकपा नुवाकोटको टिमले जिल्ला अस्पतालका लागि एक थान भेन्टिलेटर उपलब्ध गराइदिन अनुरोध गरेका थिए । भेन्टिलेटर हस्तान्तरण गर्दै सांसद पाण्डेले प्रदेश सरकारको तर्फबाट पनि अस्पतालका लागि थुप्रै मेडिकल सामग्री उपलब्ध गराउने निर्णय भएको भन्दै यसको प्रयोगमा जोड दिन अनुरोध गरे । उनले अरू सांसहरूको जस्तो भ्रम बाड्ने नभइ आफूले जनताको लागि वास्तविक र परिणाममुखी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नुवाकोटसहित धादिङ र रसुवाकाका नागरिकले उपचार सेवा लिने जिल्ला अस्पतालमा यसअघि पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भेन्टिलेटरसहितको एनेस्थेसिया मेसिन नुवाकोट पठाउनुभएको थियो । अस्पतालका लागि मन्त्रालयले उपलब्ध गराउने भेन्टिलेटर मेसिन तत्काल प्रयोगमा आउने र अस्पतालको एउटा महत्वपूर्ण आवश्यकता पूरा भएको प्रमुख डा रेमकुमार राईले बताए ।

जिल्ला अस्पताल त्रिशुलीका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन नुवाकोट सरोकार समाजले समेत विभिन्न संस्था र मन्त्रालयहरूमा निरन्तर लबिङ गरिरहेको छ । तीन जिल्लाका नागरिकले उपचार लिने त्रिशुली अस्पतालमा भेन्टिलेटर उपलब्ध गराउने निर्णय गरेर स्वास्थ्य मन्त्रालयले निकै महत्वपूर्ण काम गरेको भन्दै समाजका महासचिव अनुजकुमार श्रेष्ठले समाजले अब अत्याधुनिक ल्याब र रक्तसञ्चार केन्द्र स्थापनाका लागि काम गर्ने बताए । उनले कोरोनाको संक्रमण बढ्दै गएको परिप्रेक्षमा कम्तिमा दुइ सय बेडको अाइशोलेसन तत्कालत तयार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार १६:३७