१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कोरोना कोषमा सनराइज बैंकको ७९ लाख सहयोग

३० साउन, काठमाडाैँ । सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४७६ सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडालाई बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा अर्थमन्त्री डा खतिवडाले उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको उल्लेख गर्दै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताउनुभयो ।

उक्त रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले यसअघि पनि मुलुकका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह र अस्पताललाई कोरोनासँग लड्न पिपिई, मास्क, स्यानिटाइजरलगायत आवश्यक स्वास्थ्य सामर्ग्री हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १९:४७