कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा दिन नेपाल राष्ट्र बैंकको निर्देशन
२९ साउन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
बैंकले ‘कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई व्यवस्थितरुपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेशनमा राख्न र सङ्क्रमितको सम्पर्कमा आएकाको ‘कन्टयाक टे«सिङ’ गर्न भनेको छ । सङ्क्रमित कर्मचारीलाई आवश्यकतानुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
आइसोलेशन तथा क्वारेन्टिनमा रहेका सङ्क्रमित कर्मचारीको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्न आग्रह गरिएको छ । केन्द्रीय बैंकले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला र काठमाडौँ उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो प्रणालीबाट कार्यसम्पादन गराउनसमेत निर्देशन जारी गरेको छ ।
यस्तै बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने, हाजिरी हुने व्यवस्था गर्नुपर्ने र पूरा तलब दिनुपर्ने निर्देशनमा उल्लेख छ ।बैंकले घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र ‘वर्क फ्रम होम’ उल्लेख गरी हाजिरी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार २१:५७