१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

आर्थिक वर्ष २०७५/२०७६ को बजेट अाज

१५ जेठ, काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०७५/२०७६ को बार्षिक बजेट आज सार्वजनिक गर्दै छ । संवैधानिक व्यवस्थाअनुरूप जेठ १५ गते वार्षिक बजेट पेस गर्नुपर्ने भएकाले आज संसदमा बजेट प्रस्तुत हुँदै छ ।

समृद्ध नेपाल, सुखी नेपाली मूल नारा दिएर प्रस्तुत हुने बजेट १३ खर्बभन्दा बढी १५ खर्बभन्दा कम हुने बताइएको छ। यद्यपि बजेट सिलिङ साढे १२ खर्बको हाराहारीमा रहेको छ। संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा.युवराज खतिवडाले आज अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नुहुने छ । संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नुहुनेछ । सरकारले ल्याउने उक्त बजेटमा संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार ०७:३०