१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

बजेटलाई नेप्सेको ‘ग्रिन सिंग्नल’, सोमबार एकै दिन नेप्से ३६ अंकले बढ्यो

१४ जेठ, काठमाडौँ । गत साता झण्डै २० अंकले ओरालो लागेको सेयर बजारमा सोमबार सकारात्मक संकेत देखिएको छ । लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से सोमबार भने बढेको छ । कारोबार भएकामा सबै जसो कम्पनीको शेयरको मूल्य बढेपछि नेप्से सोमबार एकै दिन ३६ अंकले बढेर १३ सय ३६ को बिन्दुमा पुगेको छ ।

सोमबार बिहान ११ बजे बजार खुले लगत्तै घटेको नेप्से झण्डै एक घन्टापछिबाट बढ्न थालेको थियो । सोमबार कारोबार भएका सबै समूहको परिसूचक बढेका कारण समग्रमा नेप्से पनि बढेको हो । नेप्सेसँगै सोमबार कारोबार रकम पनि आइतबारको तुलनामा ८ करोडले बढेर ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

भोलि सार्वजनिक हुने बजेटमा सरकारले पूँजी बजार सुधारका कार्यक्रमलाई पनि समावेश गर्ने हल्ला फैलिएका कारण सोमबार अचानक शेयर बजार बढेको अनुमान गरिएकोे छ । सोमबार शिखर इन्सुरेन्स, जनउत्थान सामुदायिक लघुवित्त र किशान माइक्रोफाइनान्सका शेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १८:२२