१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपालको उर्जा क्षेत्रमा लगानी ल्याउन बंगलादेश तयार

८ साउन, काठमाडाैँ । सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गर्नुभएको हो ।

नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षमा ढुक्क रहन आग्रह गर्नुभयो । राजदूत आफ्नो साम्स चार वर्षे कार्यकाल पुरा गरी केही दिनपछि बंगलादेश फर्कंदै हुनुहुन्छ ।

भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले उहाँले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारका लागि कोशेढुंगाको संज्ञा दिनुभयो । नेपाल र बंगलादेशबीच २०७५ साल भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली खरिद गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसअघि मन्त्री पुन र बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेशन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

मन्त्री पुनले बंगलादेश र नेपालबीच जनस्तरमा समेत सम्बन्ध प्रगाढ बन्दै गएको चर्चा गर्नुभयो । ‘नेपालबाट अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी बंगलादेश गएका छन् । यसले दुई देशबीच जनस्तरको सम्बन्ध विस्तार र सुढृढ बनाउन सहयोग पुगेको छ’, मन्त्री पुनले भन्नुभयो । मन्त्री पुनले राजदूत साम्सको कार्यकालमा द्विपक्षीय कूटनीतिक र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण समझदारी भएको भन्दै प्रशंसा गर्नुभयो ।

जवाफमा राजदूत साम्सले नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै मन्त्री पुनको प्रशंसा गर्नुभयो । ‘नेपाल र बंगलादेशका बीचमा ऊर्जा क्षेत्रमा सहकार्यको राम्रो वातावरण बनेको छ’, राजदूत साम्सले भन्नुभयो, ‘तपाईंको कुशल नेतृत्व नभएको भए यो सम्भव थिएन ।’ राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बंगलादेश दुवैले ठूलो आर्थिक क्षति ब्यहोर्नुपरेको भन्दै आर्थिक–सामाजिक चुनौतीको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपालले पर्यटन र टेमिट्यान्समा क्षति ब्यहोरेजस्तै बंगलादेशले पनि गलैंचा र रेमिट्यान्समा क्षति ब्यहोरेको उहाँको भनाइ थियो । कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमणहरु महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठोस खाकाबारे वार्ता हुने जानकारी राजदूत साम्सले दिनुभयो । यस्तै राजदूत साम्सीले मन्त्री पुनलाई कोभिड–१९ महामारी अन्त्यलगत्तै बंगलादेश भ्रमणको निम्तासमेत दिनुभयो । मन्त्री पुनले बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र समकक्षी (उर्जामन्त्री) नसरुल हमिदीलाई नेपाल भ्रमणको निम्ता दिनुभयो ।

मन्त्री पुनले कार्यकाल सकाएर फर्किए पनि भ्रमणका लागि नेपाल आउन आग्रह गर्नुभएको थियो । जवाफमा राजदूत साम्सीले नेपाल आफ्नो दोश्रो घर भएकाले आइरने जवाफ दिनुभयो । नेपालका धेरै रमणीय स्थान घुमेको स्मरण गर्दै उहाँले सगरमाथा आधार शिविर, मुस्ताङ र लुक्ला जाने चाहना पूरा नभएकाले अर्कोपटक आउने जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार २०:१०