१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मौद्रीक नीति काेराेना पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्ने गरी आएको छः पूर्व गभर्नर क्षेत्री

३ साउन, काठमाडाैँ । उद्योगी, व्यवसायी तथा अर्थविदहरुले आशा गरे अनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रीक नीति आएको प्रतिक्रिया दिएका छन् । कोभिड-१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्ने गरी आएको मौद्रीक नीति कार्यान्वयनमा भने अर्थविदहरुले आशंका गरेका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेर आएको मौद्रिक नीति आशा गरेअनुसार नै भएको बताउनुभयो । नीति जुन स्प्रिटमा आएको छ त्यही स्प्रिटमा कार्यान्वयन भयो भने खोट लगाउने कुनै ठाउँ नभएको उहाँले बताउनुभयो ।

यस्तै बैंक तथा वित्तिय परिसंघका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकले कृषि क्षेत्रमा १५ प्रतिशत लगानीका लागि आह्वान गरेपछि सबैले वास्तविक कृषि क्षेत्रमा लगानीका लागि ध्यान दिनुनपर्ने बताउनुभयो ।

१ करोडभन्दा कमको व्यवसाय गरिरहेका कृषक, साना उद्योगी व्यवसायीहरुलाई पुँजी अभावले व्यवसाय गर्न समस्या नहुने गरी नीति आएको उहाँले बताउनुभयो । कोभिड-१९ का कारण समस्यामा परेका व्यवसायीहरुका लागि पुर्नकर्जाको व्यवस्थाले ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यसैगरी नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोभिडका कारण समस्यामा परेका नीजि क्षेत्रले राखेका मागभन्दा राम्रो मौद्रिक नीति आएको बताउनुभयो । लक डाउनबाट प्रभावित व्यवसायीहरुको बैंक किस्ता र व्याज तिर्ने म्याद समेत बढेकाले कर्मचारीहरुलाई तलब खुवाउन र व्यवसायलाई पुर्नजीवन दिन समस्या नहुने उहाँले बताउनुभयो ।

रिपोर्टस क्लबमा भएका साक्षत्कारमा व्यवसायीहरुले राष्ट्र बैंकले नीति कार्यान्वयनका लागि विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । राष्ट्र बैंक भित्रै ‘टास्क फोर्स’ बनाएर कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्नुपर्ने सुझाव उनीहरुको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार १६:०४