५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सगरमाथा चढेकी महिला पत्रकारको जागिर धरापमा

१३ जेठ, काठमाडौँ । यस वर्षकोर बसन्त ऋतृको सिजनामा पत्रकार महिला आरोहण दलमा सहभागी भएर सगरमाथा चढेकी एक महिला पत्रकारको जागिर धरापमा परेको छ । सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)मा अधिकृत तहमा कार्यरत रोशा बस्नेतको जागिर धरापमा परेको हो ।

विगत ६ महिनादेखि विना जानकारी आफूखुशी गयल भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगको निर्देशनमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्धारा गठित छानविन समितिले सो प्रकरणमा रासस व्यवस्थापन र सम्बन्धित कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन लागेको बुझिएको छ । राससको अंग्रेजी सम्पादन शाखामा कार्यरत बस्नेतले शाखा प्रमुख दीपराज सन्याललाई समेत जानकारी नदिइ माथि नै मिलाएको छ भन्दै सगरमाथा चढ्ने प्रक्रियामा सामेल भएको बुझिएको छ ।

आफ्नो पत्रकारले साहसी काम गर्नुलाई राससभित्र बिरोध नगरिए पनि प्रशासनिक र कानुनी दृष्टिले उनको आरोहण विवादित बन्न पुग्यो । आरोहणको खुशी राम्रोसँग बाड्न नपाउँदै उनी माथिको छानविनले जागिर नै धरापमा परेको छ । राससको कर्मचारी विनियमावली अनुसार कुनै पनि स्थायी कर्मचारीले नियुक्ति भएको दुई वर्ष नपुगी बेतलबी विदा लिन पाउँदैनन् । जबकी उनलाई हाजिर नै नगरी र विदा समेत स्वीकृत नभएको अवस्थामा दुई महिनाको तलब समेत निकासा भैसकेको छ ।

यद्यपी छानविन समितिले तलब निकासाको विषयमा समेत प्रश्न उठाएकोे छ । बोर्डमा बस्नेतको विदाको विषय छलफल भए पनि मन्त्रालयको प्रतिनिधिको असहमतिले निर्णय हुन सकेको थिएन । यस विषयमा दैनिकीले राससका प्रशासन प्रमुख सोमनाथ लामिछानेसँग चासो राख्दा विदा स्वीकृत नभइ सगरमाथा चढेको जानकारी दिए । उनले भने, ‘उहाँँले निवेदन दिनुभएको थियो, उक्त निवेदन बोर्डमा पेश पनि भयो तर निर्णय भएको थिएन । सायद अबको बोर्ड बैठकले निर्णय गर्छ ।’

बस्नेत डा मिनेन्द्र रिजाल सञ्चारमन्त्री हुँदा राससमा अस्थायी नियुक्ति लिएकी थिइन । पछि रिजाल मन्त्रीबाट हट्नु केही अघि राससमा भएको कानुनी रुपमा विवादित भएको सिमित अन्तरिक प्रतियोगिताबाट स्थायी भएकी थिइन । उनी सगरमाथा चढेर फर्किए पनि राससमा जागिर खान भने गएकी छैनन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार १७:४६