नयाँ सरकारको सफलताको पहिलो सर्तः कर्मचारीतन्त्रको कार्यशैलीमा सुधार
–प्रेमलकुमार खनाल
वहुदलीय व्यवस्थामा राजनीतिज्ञहरुको सरकारमा आगमन र वर्हिगमन भईरहन्छ । तर स्थायी तवरले राज्य संचालनका लागि कर्र्मचारीतन्त्रको व्यवस्था गरिएको हुन्छ र त्यसै भएर कर्मचारीतन्त्रलाई राज्य संचालनका सन्दर्भमा ‘स्थायी सरकार’ भन्ने गरिन्छ । २०४६ साल यता हाल सम्म २२ पटक सरकारको फेरवदल भई सक्यो तर कर्मचारीतन्त्रले निरन्तर रुपमा सरकार र नागरिकका विचमा सम्पर्क स्थापित गरेर सेतुको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।
मुलुकमा संघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गरिएको नेपालको संविधान २०७२ बमोजिम संघीय राज्य प्रणाली अन्तर्गत ३ वटा तह संघ, प्रदेश र स्थानीय तहमा पहिलो पटक निर्वाचन सम्पन्न भई ३ वटै तहमा सरकारको गठन भएको छ । यस सन्दर्भमा ३ वटै तहमा राजनितिज्ञहरुबाट नेतृत्व गरिएका सरकारहरु विल्कुल नयाँ परिवेशमा गठन भएका छन । अर्थात गणतन्त्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा पहिलो पटक जनताबाट निर्वाचित सरकारहरु गठन भएका छन यी सरकारहरु माथि संविधानले निर्दिष्ट गरे अनुरुप मुलुकमा गणतन्त्रको सुदृद्धीकरण गर्दै जनताको विकास र सर्मद्धनको चाहना अनूरुप भूमिका निर्वाह गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी आएको छ । निर्वाचित सरकारका सामु रहेका यी ऐतिहासिक जिम्मेवारी पुरा गर्न कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका रहेको छ ।
आधुनिक राज्य प्रणालीमा कर्मचारीतन्त्रलाई योग्यतामा आधारित संयन्त्रको रुपमा लिईन्छ । कर्मचारीतन्त्रले विवेक सम्मत ढंगले कार्य सम्पादन गर्ने , सरकारको फेरवदल भई रहे पनि यसले निरन्तर रुपमा संविधान र कानूनले निर्दिष्ट गरे अनुरुप कार्य गरी जनातालाई हाम्रो सरकार छ भने अनुभूतीका साथ सेवा प्रवाह गरि रहनु पर्दछ मान्यता राखिन्छ । यस्तै कर्मचारीतन्त्रले संविधान, कानून निति नियमको तर्जूमा गर्ने राजनितिज्ञहरुको सहयोगीको भूमिका निर्वाह गर्ने र संसदबाट पारित भएका कानुनको पालना गर्ने र गराउने भूमिका निर्वाह गर्नुका साथै निश्चित अनुशासन र आचरणका मुलत र मान्यता अनुरुप संचालन भईरहेको हुन्छ ।
कर्मचारीतन्त्र भित्र संस्थागत स्मरण (इन्स्च्युसनल मेमोरी) को लिखित निर्णय र कार्य प्रणाली हुन्छ व्यक्ति फेरवदल भए पनि यसले संविधान, कानूनको रक्ष र पालनामा तथा जनताको सेवा प्रवाहमा कुनै पनि किसिमको रिक्तता (भ्याकुम) हुन दिदैन । कर्मचारीतन्त्र भित्र श्रम विभाजनमा आधारित कार्यसंरचना र पद सोपानको संरचनाको व्यवस्था अन्तर्गत उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानको जिम्मेवारी प्रदान गर्ने व्यवस्था हुनुका साथै कर्मचारीतन्त्रले स्वच्छ निश्पक्ष, तटश्थ भएर भूमिका निर्वाह गर्ने मान्यता राखिन्छ ।
कर्मचारीतन्त्रका यी माथि उल्लेखित आदर्श, गुण र विशेषताहरु हुने परिकल्पना गरिए पनि व्यवहारमा अझै पनि कर्मचारीतन्त्रले आफ्नो योग्यता, क्षमता देखाउन नसकेको सर्वत्र टिप्पणी हुने गरेको छ । कर्मचारीतन्त्रले दुरदृष्टिका साथ आफ्नो ध्येय, लक्ष्य, उद्देश्य र कार्य योजना तर्जुमा गरेर ‘मिसन’ का साथ हिड्न नसकेको सर्वत्र टिप्पणी हुने गरेको छ । कार्यालयमा दश बजे पुग्ने जे काम आई लाग्दछ गर्ने र पाँच बजे घर फर्कने यहि प्रक्रियाबाट पेन्सन बनाउने गोल चक्करबाट कर्मचारीतन्त्र चलिरहेको टिप्पणी गरिन्छ ।
कर्मचारीतन्त्रमा सबैभन्दा उत्कृष्ठहरुको छनौट हुने भएको हुँदा यसलाई योग्यता प्रणालीमा आधारित संयन्त्र भनिएको हो तर व्यवहारमा कर्मचारीतन्त्रले आफ्नो योग्यता, सक्षमतालाई अझै प्रदर्शित गर्न नसकेको टिप्पणी हुने गरेको छ । जटिल र चुनौतीपूर्ण कार्यबाट पन्छिने, जोखिम लिन नचाहने, सामान्य समस्या आउने वित्तिकै अनेक बहाना देखाउने र पन्छिने, विगतामा अस्थिर सरकारहरु भएका कारण अब नयाँ सरकार आएपछि गर्ने वा यो सरकार गईहाल्दछ किन जोखिम लिएर काम गर्ने? जस्ता मानसिकता, प्रवृत्ति र व्यवहारबाट कर्मचारीतन्त्र गुन्जी रहेको पाइन्छ ।
कर्मचारीतन्त्र वास्तवमा आफैमा सक्षम, योग्यहरुको सामीप्यता हो । राजनीतिज्ञहरु त जनताका प्रतिनिधि हुन, औषत जनताको चेतना र स्तर कै प्रतिनिधित्व निर्वाचित जनप्रतिनिधिले गर्दछन । तर कर्मचारीतन्त्रले राजनीतिज्ञहरुलाई सहि सल्लाह, सुझाव दिनको सट्टा घुमाई दिने गरेको, जनताको हितमा गर्न चाहि रहेका काम लाई पनि अनेक वहाना देखाएर, निर्णय हुन नदिने गरेको, विधि प्रकृया नमिलेको भए, कसरी विधि र प्रकृया मिलाउने भनेर सहि सल्लाह सुझाव नदिने गरेको आदि टिप्पणी हुने गरेको छ ।
कर्मचारीतन्त्र भित्र विकसित हुँदै गएको आत्म केन्द्रित साेंच, अतिरिक्त लाभ लिन उद्यत प्रवृत्तिका कारण राजनीतिज्ञहरु सँगको सामीप्यता, चाटुकार र धनुष्टकार प्रवृत्तिले गर्दा कर्मचारीतन्त्र भित्रका सक्षम व्यक्तिहरु प्नि राजनीतिज्ञहरुको लाचार छायाँ वन्न पुगेका छन् । यसले गर्दा उनीहरुमा सक्षमता एवं श्रृजनात्मकता र नवीन सोच चिन्तनका साथ कार्य गर्ने पद्धतीमा ह्रास आउन थालेको छ । यसै भएर पनि कर्मचारीतन्त्रलाई कामचोरहरुको जमात, ढिला सुस्ती गर्ने, भ्रष्टाचारी, अल्छी काम पन्छाउने भनेर आरोप लाग्ने गरेको छ यस्तै कर्मचारीतन्त्र भित्र हुर्किएको राजनीतिकरणको संस्कृतिले अर्को समस्या उत्पन्न गरेको छ । दलीय आास्था देखाएर फाइदा, अवसर लिने वा दलीय आस्थाका आधारमा सेवा प्रवाहमा भेदभाव गर्ने , सहिमूल्याङ्कन नगर्ने , राजनीतिज्ञ हरुलाई सहि सल्लाहा सुझाव दिर्द सहयोग नगर्ने, दिन भर भए गरेका कामहरुको विवरण र सूचना आफ्नो आस्था केन्द्रित दलका नेताहरुलाई सुनाउने वा पत्रपत्रीकामा छरपष्ट छपाउने खालका प्रवृति वढ्दै गएका छन् ।
कर्मचारीतन्त्रले राष्ट्र र जनताका लागि सेवा गरेका अनुभवहरु वास्तवमा राष्ट्रका लागि सम्पती हुन ति अनुभवहरु राजनीतिज्ञ र भावी पुस्ताका लागि अनुकरणीय हुन्छन् , तर कर्मचारी तन्त्रले ज्ञानm अनुभव को आदान प्रदान गर्दैन आफ्नो हितका लागि अध्ययन, चिन्तन र लेखन गर्ने वाहेक राष्ट्रका लागि अनुभवको शेयरिङ नगर्ने भनेर जुन टिप्पणी हुने गरेको छ, यो वास्तवमा दुःखद विषय हो । राज्यले कर्मचारीतन्त्र भित्रका जनशक्तिलाई लाखौं करौडौं खर्च गरी लगानी गरि रहेको हुन्छ तर ति सबै लगानीहरु वैयीत्तःक हितका लागि मात्र हुन जाँदा , व्यक्ति मोटाउने र राज्य खोक्रो बन्दै जाने निश्चित छ । सुशासनमा मितव्ययीता र आर्थिक अनुशासन अत्यन्तै महत्वपूर्ण तत्वहरु हुन ।
मुलुकको अर्थतन्त्र भित्र मितव्ययीता कायम गर्नु , आर्थिक अनुशासन कायम गर्नु कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका रहन्छ , तर कर्मचारीतन्त्र भित्र हुर्किएको अतिरिक्त लाभ लिने प्रवृत्तिका कारण विनियोजित वजेट जे जसरी पनि खर्च भएको देखाइहाल्ने, शतप्रशित खर्च भएको देखाउने, अझ नपुगेर रकमान्तर गर्ने गराउने खालका प्रकृतिले कसरी मितव्ययीता कायम होला ? विचारणीय विषय वनेको छ । महंगा र विलासीयुक्त सरकारी सुविधाको उपयोग र उपभोक्ता मुखी शैली यतिखेर कर्मचारीतन्त्रको जीवनथैली वन्दैछ ।
उच्चपदस्थ अधिकारी हुने वित्तिकै पजेरो, प्राडो सवारी साधन महंगो मोवाइल ल्यापटप नै उपयोग गर्नु पर्ने प्रचलन वढ्दै गएको छ , यही सिकारुले राजनीाितज्ञहरुमा पनि सरकारी सुविधा प्रति जीवन भर लालयीत हुने प्रवृत्ति बढ्दैछ । र कर्मचारीतन्त्र यसको किनाराको साक्षी बन्दै गएको छ ।
वजेट विनियोजन भई सकेको छ , तर एक तिहाइ पनि विकासका कार्य अलपत्र वन्ने र निर्माण भएका विकास आयोजनाहरु अत्यन्तै कमजोर गुणस्तरहिन वन्ने गरेका छन् । के यी कार्र्यमा कर्मचारीतन्त्र जवाफदेही वन्नु पर्दैन ? गंभीर प्रश्न भएको छ । अनि सम्पन्न आयोजनाहरुबाट जनता लाभान्वित हुन सकिरहेका छन् छैनन ? उत्पादन र रोजगारीमा अभिवृद्धि भर्ई रहेको छ छैन भनेर समीक्षा मूल्याकङ्गनरी जन समक्ष सार्वजनिक करण गर्ने कार्य शैली वस्न नसक्दा विकासको अवस्थाका वारेमा जनता अनभिज्ञ वनेका छन ।
संघीय राज्य प्रणालीमा जनताबाट निर्वाचित ३ वटै तहका सरकारहरु अव पाँच वर्षसम्म संचालन हुने छन् । हिजो झैं सरकार बनाउने र गिराउने खालको अस्वस्थ र फोहोरी राजनीतिक अभ्यासलाई अन्त्य गर्न कै लागि लागि जनताले अभिमत प्रकट गरेका छन् । अव राष्ट्रको गन्तव्य विकास, समृद्धि, सुशासन, सामाजिक न्याय भएको छ । अव हिजो झै “भोली गर्ने” भनेर वा “पर्खेर हेरो ” भन्दै काम पन्छाउने स्थिति छैन । अत्यन्तै नवीन सोच चिन्तनका साथ श्रृजनात्मक भएर नीतियोजनाको तर्जूमा गरि कार्यान्वयन गरि हाल्नु पर्ने अवस्थामा मुलुक अगाडि बढ्दैछ । अव जनतालाई केन्द्रित गरेर नीतियोजना बनाउने, योजनाहरु लक्ष्य प्रति परिणाममुखी एवं विकासमुखी हुनुकोे साथै जनताका चाहाना एवं भावनाको कदर गर्ने र जनताले चाहेको सेवा प्रदान गर्ने विधिपद्धतिको विकास गर्नुपर्दछ । जनताले एकपटक सेवा प्राप्त गरेपछि सदैव संझना गरिरहनु सेवाको तारिफ गरिरहने गरि कार्य सम्पादन गर्नुपर्ने बेला आएको छ ।
अव कर्मचारीतन्त्र भित्र विकसित भएको आत्मकेन्द्रित र हाकिम मुखी चिन्तन को भद्धा प्रवृतिलाई हटाउन पर्दछ । समूहकार्य लाई जोडदिने, नीति तर्जुमा गर्दा र निर्णय गर्दा सरोकारीत सबै पक्षको सहभागीता गराएर निर्णय गर्ने पद्धतिको विकास गर्नु पर्दछ । राजनीतिज्ञहरुको सम्बन्ध आफ्नो फायदा लिने संग सम्बन्धित भएर होइन परिभाषित काम केन्द्रित भएर गरिनु पर्दछ । आस्था विचारका आधार राजनीतिज्ञ संग नजीक वा टाढा रहने असहयोग गर्ने कार्य शैलीमा विल्कुल सुधार गर्नुपर्दछ । कर्मचारीतन्त्रले टेक्नोकुट मात्रै भएर होइन राजनीतिक एव्ं आर्थिक विषयको २ साता पनि भएर राजनीतिज्ञ सहि हरुलाई सल्लाह सुझाव दिनु पर्दछ ।
मितव्ययीता र आर्थिक अनुशासन कायम गर्न कर्मचारीतन्त्र आफै तयार हुनुपर्दछ । सार्र्वजनिक सम्पत्तीको रुपैया पनि दुरुपयोग हुन नदिने , यस्तै क्षेत्रमा हुने , चुहावट को दिने कार्यलाई सहन गरिनु हुँदैन । राष्ट्रको दुर्लभ श्रोत साधनालाई देश विकासमा सहि ढंगले सदुपयोग हुनुपर्दछ भन्ने भावना विकास गर्नु पर्दछ । पदीय हैसियतका नाममा प्रयोग गरिएका सबै खाले विलासी सुविधालाई त्याग गर्ने संकल्प गर्नुपर्दछ । कार्यालयमा कार्यालयको खर्चबाट पजेरो , प्राडो, पेट्रोल मोवाइल प्रयोगको संस्कृतिको सट्टा सुविधा सम्पन्न साझा यातायातहरु प्रयोग गर्ने पद्धतिको विकास गर्नु पर्दछ । कार्यालय का सबै सामाग्री र साधनहरु व्यक्तिगत र पारिवारिक हितमा प्रयोग गर्ने गलत परिपाटीलाई पूर्ण नियनत्रण गर्नुपर्दछ । कार्यालयमा प्रयोग हुने समान खरीदका नाममा प्राप्त हुने कमीशन रकम राजश्व खातामा दाखेला गर्ने संस्कृतिको विकास गर्नुपर्दछ । वेरुजु र वाँकी वक्यौता आर्थिाक वर्षको समाप्ती सँगै राफसाफ गर्ने पद्धतिको विकास गर्नु पर्दछ ।
कर्मचारीको पदस्थापना र सरुवा पद्धतिमा आमूल सुधार गर्नु पर्दछ । उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानको अवधाराणलाई साँच्चिकै व्यवहार मै लागु गर्नुपर्दछ । कर्मचारीहरुलाई सरुवा गरेपछि खटाएको ठाउमा नजाने , राजनीतिक एवं प्रशासनिक प्रभावमा परेर पुरानै ठाँउमा वस्ने, अवधी पुरा नहुदै सरुवा गर्ने पद्धतिलाई (मानविय संवेदनशील समस्या बाहेक) पूर्णरुपमा अनत्य गर्नु पर्दछ । हरेक व्यक्तिलाई लक्ष्य, नीति र कार्यक्रम अनुरुपको कार्य जिम्मेवारी प्रदान गर्ने, लक्ष्य अनुरुप काम भए नभएको प्रभावकारी तवरले अनुगमन गर्ने र कामलाई लक्ष्य उन्मुख बनाउन प्रेरित गर्ने, सम्पादित कामको बस्तुनिष्ट समीक्षा गर्ने, राम्रो काम गर्नेलाई पारदर्शी तवरले पुरस्कृत र दण्ड गर्ने पद्धतीको बिकास गर्नुपर्दछ ।
कर्मचारीतन्त्र भित्र योग्यता, क्षमता र अनुभवले खारिएका व्यक्तित्वहरुको ठूलो जमात छ, तर अनुभव र योग्यतालाई केवल आफ्नो स्वार्थ सिद्धि पुरा गर्न हुनु मात्रै प्रयोग गर्नु हुन्न । राष्ट्र र जनताको हितमा आफ्नो अनुभव र क्षमता लाई लेख रचना लेखेर तथा अनुसन्धान र विचार प्रवाह गरेर ज्ञानको आदान प्रदान गर्ने (नलेज सेयरीङ्ग) गर्नुपर्दछ । यस्तै विज्ञान र प्रविधिको विकाससँगै ज्ञानको क्षेत्रमा विकास भएका क्षेत्रमाविद्या आफूलाई अपडेट गरेर प्रशासनलाई गतिशिल, चलायमान बनाउन ध्यान दिनुपर्दछ ।
कर्मचारीतन्त्रको सक्षमता, योग्यता, क्रियाशिलता, सृजनात्मकता, तत्परता, जवाफदेहीपनले नै निर्वाचित सरकारको सफलता निर्भर गर्दछ । कर्मचारीतन्त्रको जनमुखी सोच चिन्तन र व्यवहारले नै जनताले गुणस्तरीय सेवा प्राप्त गर्दछन, अतः बदलिदो परिवेशमा कर्मचारीतन्त्रले आफूलाई सुधार र रुपान्पतरण गरेर मात्र राष्ट्र र जनता सामु रहेका अभिभारा पुरा गर्न कर्मचारीतन्त्र सक्षम हुने विश्वास लिन सकिन्छ ।
(खनाल विश्व ट्रेड युयिनयन महासंघका नेपाल र भुटानका संयोजक एवम् पेशागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)
प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०९:४९