१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नुवाकोटको विकासमा व्यापक भ्रष्टाचार, ३१ योजना पूरा भएनन्, भएका काम पनि गुणस्तरहीन

११ जेठ,नुवाकोट । विकास निर्माण तथा भौतिक संचरना अन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ भने भएका कामसमेत गुणस्तरहीन पाइएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा यहाँका चार कार्यालयमार्फत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न नभएको तथ्यांक पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार प्राविधिक कार्यालय मातहत रहेका तीन, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयका पाँच, डिभिजन सडक कार्यालयका १२ र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका ११ योजनाको काम तोकिएको समयमा पूरा भएकाे छैन ।

“विकास सेवा तथा भौतिक संरचना निर्माणको सम्बन्धमा जिल्लाका १२ वटा कार्यालयसँग तथ्यांक माग गरेका थियौँ ।” प्रजिअ थापाले भन्नुभयो,“चारबाहेक अन्य कार्यालयमार्फत भएका कामको अवस्था सन्तोषजनक पाइएको छ ।”

उहाँका अनुसार चार कार्यालयले बुझाएको काम नभएका ३१ योजना समयमा पूरा नहुनु तथा भएपनि गुणस्तरहीन पाइनुमा गत वर्षको निर्वाचन र त्यसमा लगाइएको आचारसंहिता, विसं २०७२ मा भएको नाकाबन्दी, लगातारको वर्षा, निर्माण सामग्रीको अभाव, ठेकेदारको लापर्बाही तथा काम नगर्ने मनस्थिति, योजना सञ्चालन भएको स्थानमा स्थानीयवासीको अवरोध, निर्माण व्यवसायी कीर्ते अभियोगमा पक्राउ पर्नुलगायतका कारण पाइएको छ ।

गत बिहीबार गृहमन्त्री थापाको निर्देशनलगत्तै गृहमन्त्रालयले मातहतमा रहेका सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई विवरण उपलब्ध गराउन दिएको निर्देशनअनुसार यहाँको प्रशासनले संकलन गरेको तथ्यांकमा उक्त योजना समयमा पूरा हुन नसकेको उल्लेख गरी गृहमन्त्रालयमा प्रतिवेदन पठाउन लागिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १०:१८