१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तनहुँका स्थानीय तहकाे बजेट ७ अर्ब

१२ असार, दमौली । तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब रु सात अर्बको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले रु छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० को अनुमानित बजेट सार्वजनिक गरेका हुन् । व्यास नगरपालिकाले रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब सात करोड सात लाख ३७ हजार, भानु नगरपालिकाले रु ७८ करोड ९१ लाख १२ हजार, भिमाद नगरपालिकाले रु ५६ करोड ५३ लाख सात हजार, ऋषिङ गाउँपालिकाले रु ५९ करोड ९७ लाख २० हजार दुई सय ४०, बन्दीपुर गाउँपालिकाले रु ५८ करोड ३२ लाख ७१ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ५७ करोड ३९ लाख सात हजार, म्याग्दे गाउँपालिकाले रु ४७ करोड ४२ लाख २४ हजार, देवघाट गाउँपालिकाले रु ४० करोड ७५ लाख ५८ हजार र घिरिङ गाउँपालिकाले रु ३३ करोड १७ लाखको बजेट सार्वजनिक गरेको हो ।

शुक्लागण्डकी नगरपालिकाले बाँझो जमीनलाई उत्पादनमूलक बनाउने नीति लिएको छ । नगर क्षेत्रभित्र बाँझो रहेका जमीनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । नगरपालिकाको आफ्नै भूउपयोग नीति बनाइने र कृषिको व्यावसायिकीकरण र विविधीकरणमा जोड दिने योजना बनाइएको जानकारी दिनुभयो । “वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार युवालाई उनीहरुको सीप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो ।

विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र एक वडा  एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रभित्र बाँझो रहेका जग्गाको पहिचान गरी कृषकलाई त्यस्ता जग्गामा खेती गर्न प्रोत्साहित गरिने र पर्याप्त बजेटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहले कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १३:२८