प्रधानमन्त्री ओलीका राष्ट्रघातको घोर विरोध गरौँ
-प्रा.डा.ऋषिराम शर्मा
सङ्घीय गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री केपी ओलीज्यू ! तपाईँबाट हामीहरूलाई घातैघात भएकाले हामी हत्तुहैरान भएका छौँ ! हामी तपाईँको घोर विरोधमा उत्रेका छौँ ! हुनत अध्यादेश काण्डको बेलुन भरिएका बेला मैले तपाईलाई मिति वैशाख १३ गते तपाईँका अनेकौँ अपराध खुलाई यही दैनिकीबाट राजीनामा मागेकै हो ! त्यतिबेला राजीनामा दिनुभएन !
अहिले पनि तपाईँबाट हाम्रो भविष्य ज्यूँका त्यूँ खतरामा छ ! र यो बीचमा प्यारा ठुल्दाई(!) सँग निहुँ खोजेको कारण तपाईँलाई हटाउन हामीलाई उहाँको प्रच्छन्न र प्रगाढ आशीर्वाद पनि प्राप्त छ ! त्यसैले हामीले तपाईको भित्रभित्रै घोर विरोध गर्नाका कारण र तरिकाहरू यहाँ क्रमशः प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
तपाईबाट हुन गएको पहिलो र गम्भीर गल्ती वामपन्थीका लागि दुईतिहाइ हारहारीको बहुमत ल्याइदिनु हो । तपाईकै कारण यो दुई तिहाईको घाँडो अहिले हामी उही दलभित्रका केहीलाई निल्नु न ओकल्नु भाको छ । हेर्नुस् न ! तीनतीन वर्ष हुन लाग्यो, तपाई यति लामो समयसम्म प्रधानमन्त्री हुनुभएको ! तपाईलाई थाहा हुनु पर्ने, यो बीचमा डेढ सय जति मन्त्री हुन पाउने हाम्रो परम्परागत हक तपाईकै कारणले हनन भैसकेको छ !
अझै तपाईले थप कैयौँ सांसदको प्रधानमन्त्री र मन्त्री हुने मानवाधिकार हनन गर्ने गरी पूरै पाँच वर्ष प्रधानमन्त्री बन्छु भनिरहँदा त झन् हाम्रो सातोपुत्लो उडेको छ र होसहवासै गुम भएको छ समग्रमा भन्नुपर्दा तपाईँले यो पाँच वर्षे अवधिमा दसजना प्रधानमन्त्री र प्रत्येक प्रधानमन्त्रीका पालामा बन्ने नयाँ नयाँ २५ जना गरी जम्माजम्मी २५० जना मन्त्री बन्नेहरूको नैसर्गिक हक हनन गर्नु भई तपाईँले गम्भीर अपराध गर्नु भएको छ ! तपाईको यो अपराध अब हामी सहने वाला छैनौँ !
अँ, प्रधानमन्त्रीज्यू ! तपाईँको अर्को ठूलो अपराध नेपाली भूमि लाई नेपालको नक्सामा समावेश गर्नु हो । हामी त उहिल्यैदेखि ‘कब्जावाद’का हिमायती हौँ । विद्रोहकालमा व्यक्तिका जग्गा कब्जा गरेर अनि सार्वजनिक जग्गा कब्जा गरेर हकभोगको आडमा आफ्ना नाममा नामसारी गराउने हाम्रो नीति थियो । हाम्रो यो नीतिका विरुद्ध तपाईले ठुल्दाइ(!)ले कब्जा गरेको जग्गा आफ्नै देशका नाममा नामसारी गराई ठुल्दाइको चित्त दुखाउँदै गरेका कारण पनि हामीले तपाईलाई नरुचाएकै हो । यसरी नरुचाउँदा नरुचाउँदै र मुटुमा ढुङ्गा राखेरै भए पनि नक्सा विधेयकमा भने हामी समर्थन गर्न वाध्य छौँ !
हो, हुनत हामीले संसदमा र विभिन्न मिडियामा आएर तपाईलाई यो भूमि नेपालको नक्सामा राख्नु पर्यो भनेका हौँ, हाम्रो अनुमान थियो तपाई त्यो काम कुनै पनि हालतमा गर्न सक्नुहुन्न ! किनकि त्यसो भनिरहने हामीहरूमध्ये धेरैले त्यही पदमा बस्दा चूँ आखर बोलेका थिएनौँ र पदमा रहुन्जेल दक्षिणतर्फ साष्टाङ्ग लम्पसार परेकै थियौँ । अनि पदबाट बाहिरिनासाथ घोर राष्ट्रवादी बन्ने हाम्रो नानीदेखि लागेको नाटकीय बानी थियो ! तपाईँ पनि त्यस्तै हुनुहोला भनेर नक्सामा समावेश गर्नु पर्यो भनेर हामी तीन बित्ता बुरुकबुरक् उफ्र्यौँ !
आम्मै नि तपाईले त कसैले नगरेको काम गरेर हामीलाई हैरान पार्नु भो गाँठै ! तपाईले साच्चै यसो गर्नुहुन्छ भन्ने थाहा भएको भए धरोधर्म हामीले त्यसो भन्ने थिएनौँ । तपाईलाई हटाउने हाम्रो मिसनमा ठूलो धक्का लागेको छ ! तर हामी त्यसै छाड्ने वाला छैनौँ ! हामी भित्रभित्रै दक्षिणदेवतिर फर्केर नमोनमो भन्दै गुहार गरेकै छौँ र हाम्रो अभियान जारी छ !
अँ, प्रधानमन्त्रीज्यू तपाईलाई हटाउन हामीले अब एमसिसीलाई निहुँ बनाउने अभियान थालेका छौँ । एमसिसी वास्तवमा हाम्रै पालामा हामीले अमेरिकासँग बिन्तीपत्र हालेर ल्याएका हौँ । त्यसमा हाम्रो ठुलो मिहिनेत र लगानी छ ! बाबुराम प्रधानमन्त्री हुँदा २०६८ माघ ५ गते थ्रेसहोल्डमा परेर छनोट भएको, सोही साल माघ २७ गते अर्थमन्त्री वर्षामान पुनको प्रस्तावमा एमसिसी समन्वय गर्न एमसिसी सम्पर्क अधिकृत नियुक्ति गरिएको, २०७० पुस २१ गते खिलराज रेग्मीका पालामा अवरोध पहिचानका लागि नेपाली अर्थशास्त्रीहरुको समूह गठन भएको, वि.सं. २०७१ माघमा एमसिसीले नेपाललाई एमसिसी कम्प्याक्टको लागि छनोट गरेको, २०७१ चैत २३ गते प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महतका कार्यकालमा पूर्व सचिव कृष्ण ज्ञवालीलाई उक्त कम्प्याक्टका लागि संयोजक तोकिएको ।
२०७२ माघ २८ गते नेपाली काङ्ग्रेसको सरकारका पालामा उक्त अनुदान स्वीकार गरिएको, २०७३ साउन ५ गते माओवादी र एमालेको संयुक्त सरकार हुँदा अनुदान स्वीकार गर्ने सम्झौतामा हस्ताक्षर भएको, २०७४ जेठ १८: तत्कालीन अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको प्रस्तावमा तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले एमसिसी सहायता स्विकार सँग सम्बन्धित एमसिसी कम्प्याक्टको मस्यौदा तयार गर्ने गरी द्विपक्षीय वार्ता गर्नका लागि नेपाल पक्षको वार्ताटोली गठन गरेको थियो ।
त्यस्तै वि. सं. २०७४ साउन १० मा काँग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको (काँग्रेस माओवादी केन्द्रको) गठबन्धन सरकारले एमसिसी सहयोग स्वीकार गर्ने विषयमा मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्न ‘एमसिए नेपाल’लाई स्वीकृति प्रदान गरेको, वि. सं. २०७४ भाद्र १९ नेपाली काँग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहितको टोलिलाई एमसिसी हस्ताक्षर लगायतका तत् सम्बन्धी सम्पूर्ण अख्तियार सहित सम्झौताको लागि अमेरिका प्रस्थान गर्न अनुमति दिने मन्त्रीपरिषद्को निर्णय भएको, वि. सं. २०७४ भाद्र २९ नेपाली काँग्रेस तथा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारको प्रतिनिधित्व गर्दै तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की (नेपाल सरकार पक्ष) र एमसिसीको तर्फबाट तत्कालीन चिफ एक्ज्युकेटिभ अफिसर मिस्टर जोनाथन ( पक्ष) ले अमेरिकाको वासिङ्टन डि.सि मा एमसिसी सम्झौतामा हस्ताक्षर भएको, वि. सं २०७४ भाद्र २९ गते भएको सम्झौताको पुरक सम्झौतामा एमसिसीलाई सँसदले अनुमोदन गर्ने भनेर लेखिएको थियो ।
हुनत यो सरकारले हामीले यसरी ठुला दुखले भित्र्याएको उक्त बुँदाको कार्यान्वयन मात्र गर्न खोजेको मात्र हो जुन बुँदा हाम्रा (प्रचण्ड र देउवा) सरकारकै पालामा तय भएको थियो । तर त्यति लामो समयसम्म हामीले यस सम्झौतामा राष्ट्रघात पटक्कै नदेख्नु तर अहिले यसमा हामीले राष्ट्रघातै राष्ट्रघात मात्र देख्नुले पनि हामी तपाईँका विरुद्ध के के षडयन्त्र र जादू गर्दै छौँ र त्यही निहुँमा तपाईँलाई राष्ट्रविरोधी साबित गर्न के कति पापड बेल्दैछौँ भन्ने त तपाईँले बुझ्नु भएकै होला ! हामी फेरि पनि जोडदार रूपमा भन्न चाहन्छौँ, एमसिसीको एम्बुस थापेर तपाईलाई राष्ट्रघाती साबित नगरी हामी छाड्ने छैनौँ ! यसमा पनि गुजराती बाबाको आशीर्वाद भए पछि त हामी कसो सफल नहोऔँला गाँठे !
अँ, प्रधानमन्त्रीज्यू, हेरिराख्नु होला, यो एमसिसीबाट पनि हटाउन सकिएन भने तपाईँलाई कोरोनाको निहुँमा ठेँगान लगाउने हाम्रो अभियान आरम्भ भैसकेको छ ! तीन तीन महिना लकडाउनमा थुनिएर निसासिएका युवा युवतीहरू रोमान्टिक शैली र सेक्सी पारामा सडकमा ओर्लेको देखेर अहिले हामीलाई निकै मजा आइरहेछ ! ‘सेक्स इज गुड’ ‘आइ लव वर्षा राउत’ ‘केटी हेर्न आको’ ‘नेताज्यू फक यु’ जस्ता प्लेकार्ड, सहित हातहातमा लाखौँ पर्ने मोबाइल बोकेका युवयुवतीहरू क्याफे, डिस्को र डेटिङ् कल्चर बन्द भएर हैरान थिए होलान् ! बैस पोख्ने निकास नपाएर आत्तिएका बैसालुहरुको यो ललित यौनिक आन्दोलन ( प्लेकार्डकै बोली अनुरूप) को कृत्रिम हुरीबाट पनि हामी हर्षित छौँ । त्यसमा हामीले हाम्रा नातेदार र शुभ चिन्तकहरूलाई पनि जान प्रेरित गरिरहेछौँ !
वास्तवमा यो लकडाउन उल्लङघनका आदिपुरुष हामी नै हौँ । सरकारले लकडाउन गरेका बेला सुरुमा भैँसेपाटी, खुमल्टार र हात्तीबन मात्र होइन झम्सीखेलको अँगेनु रेस्टुरेन्ट जस्ता ठाऊँमा भेला भएर आफ्नै सरकारका निर्णय धोती लाउँदै हामीले जुन नियम उल्लङ्घन गरेका थियौँ, आज हाम्रा छोरा नातिको उमेरका चिचिला किशोरी र युवा युवतीहरूले त्यही पथ पछ्याउँदै हिँडेको र कोरोना वृद्धि गर्न सघाउ पुर्याएकोमा हामी गदगद छौँ भन्ने कुरा त यसबारे हामी मौन रहेकोबाट तपाईँले थाहा पाउनु भएकै होला । अब हामीलाई कोरोना नियन्त्रण गर्न नसकेको आरोप तपाईँमाथि लगाउन ठूलै मसला मिल्नेवाला छ !
हुनत हामीलाई थाहा छ, संसारमा जुन गतिमा कोरोना बढेको छ, र धनी राष्ट्रहरूमा समेत विचल्ली परेका अवस्थामा नेपालले गरेको प्रगति उत्कृष्ट छ भनी डब्लुएचओले समेत भनिरहेका बेला हामीलाई तपाईँ विरुद्ध मोर्चा कस्न बडो गारो परेकै थियो ! यी काँचा केटाकेटीहरूको रोमान्टिक आन्दोलनको ढाडमा टेकेर तपाई विरुद्ध जाइलाग्न गजबै हुने भो भनी हामी दङदास छौँ । नेपालका महान धर्ती पुत्र मधेशबासीहरूलाई कहिल्यै माथि उठ्न नदिई तिनीहरूका नाममा काठमाडौँसँग ब्ल्याकमेलिङ गरिरहने अङ्गीकृतेहरू लगायतले पनि हाम्लाई समर्थन गरेकै छन् । हामी “ढाडमा टेक्ने थ्योरी” का प्रतिपादक र प्रयोगकर्ता हौँ, र तपाईकै पूर्व सहयात्रीका ढाडमा मात्र होइन उहाँहरूले अराए बमोजिम टाउकैमा टेकिरहेका छौँ ! त्यसैले त तपाईका राम्रा कामलाई पनि राष्ट्रघाती साबित गर्न जो हामी ज्यान फालेरै लाग्न बल पुगेको छ !
अँ, प्रधानमन्त्रीज्यू, तपाईँले हामीलाई एउटा ठूलै धर्म सङ्कटमा पारिदिनु भएको छ ! हामीले तपाईलाई राजधानीका आकाशमा जति राष्ट्रघाती भनेर उडान भरे पनि जमिनका जनताको मनमन्दिरमा तपाईकै गजुर छ भन्छन् ! सुन्छौँ, ती जनताले तपाईलाई राजनेता मान्न थालिसके रे ! तपाईलाई हटाउन नै हामीलाई त्यसै सकस छ । भट्टामा मान्छे पोल्नेलाई तपाईले थुनेको, भ्रष्टाचार गर्ने जो कोहीलाई पनि छाड्दिन भनेको सुन्दा कालक्रममा गरेका अपराधका कारणले हो कि किन हो सपनामा आएर हामीलाई भैसीले लखेट्छ र मुटु थरथरी काम्छ ! त्यही डरलाग्दो सपना सम्झेर झ्ल्यास्स बिउझदै तपाईलाई विपनामा लखेट्न हामी कहिले कुन पाटी, कहिले न बन त कहिले कुन टारमा बसेर तानाबाना बुन्न लागेको पनि अहिले देखि हो र बरै ?
जे होस् गतिला काम गरेको मान्छेलाई अगतिलो साबित गर्नु पर्दा भित्रभित्र सारै पोल्दो रहेछ र त्यसको पाप कुन दिन आमचुनावको धुरीबाट कराउने हो कि भन्ने भयानक भूतले बेलाबेला लखेट्दो र तर्साउँदो रहेछ ! अब त्यस्ता भूत मन्साउन दक्षिणका जोगी र गुज्राती तान्त्रिकहरूले झारफुक गरिदिने भए भने हामी खुबै हौसिएका छौँ ! र, अन्त्यमा यति तर्साईसकेपछि त सके तपाईले आफै राजीनामा कसो नदिनुहोला हाउ ! दिने भए राजीनामा दिनुस् नत्र ….??? !
प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार ०६:००